PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक



पहिलोपोस्ट

ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर बैठक सुरु गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।

लुम्बिनी प्रदेशमा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रिय राजनीतिका बारेमा महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ। बालुवाटारमै बसेको बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको थियो।

स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरिएको थिएन।

स्थायी किमटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।

आजै प्रधानमन्त्री ओलीले ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell