काठमाडौं : सरकारले दोस्रो पटक नागरिक एप सार्वजनिक गरेको छ। यसअघि बेटा भर्सनमा सार्वजनिक गरिएको एपलाई अहिले ‘फुल भर्सन’ सार्वजनिक गरिएको हो।
सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एप सार्वजनिक गरे। यसअघि माघ २ मा सरकारको आलोचनालाई डाइभर्ट गर्न काम पूरा नभई एप सार्वजनिक भएको थियो। प्रतिनिधिसभा विघटन पछि आलोचित सरकारले वेटा भर्सन सार्वजनिक गरेर विषयान्तर गर्न खोजेको थियो।
बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजार ९७८ प्रयोगकर्ता दर्ता भइसकेको मन्त्रालयले जनाएको छ।
यस एपमा हालसम्म एक लाख ४५ हजार ५८८ जनाले नागरिकता लिंक गरेको तथ्यांकमा उल्लेख उल्लेख छ। त्यस्तै ४७ हजार ९८७ जनाले एसएलसीको सर्टिफिकेट लिंक गरेका छन्। त्यस्तै ९९ हजार ३९७ जनाले पान नम्बर लिंक गरेका छन्। त्यस्तै, १२ हजार ५३२ जनाले प्रहरी रिपोर्टको लागि निवेदन दिएको तथ्यांकमा उल्लेख छ।
