काठमाडौं : जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका पदमुक्त चार सांसदको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले फिर्ता गरेको छ।
पदमुक्त सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आफूलाई पार्टीको सदस्य र प्रदेशसभाबाट निष्काशन गर्ने पार्टीको निर्णय र प्रदेशसभा सचिवालय विरुद्ध आइतबार रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए।
सर्वोच्चका सह-रजिष्ट्रार बाबुराम दाहालले निषेधाज्ञाको समयमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार फिर्ता पठाउने आदेश गरेका हुन्। आदेशमा अदालतको नियमित काम कारवाही र सेवा सुरु भएका बखत प्रस्तुत निवेदन लिई आएमा दर्ता सम्बन्धमा कानून बमोजिम गर्नेगरी हाल फिर्ता दिइएको उल्लेख छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरुको यही वैशाख १४ गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा वैशाख ३१ गतेसम्म अदालतबाट दिने सेवा कटौती गर्ने गरेको थियो।
