PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल, संयुक्त सरकार बनाउने घोषणा



पूजा पन्थी

शंकर पोखरेलको सपथ रोक्न हस्ताक्षर लिएर प्रदेशसभा पुगे चार दल, संयुक्त सरकार बनाउने घोषणा

बुटवल : लुम्बिनी प्रदेशमा आइतवार बिहानैदेखि राजनीतिमा उथलपुथल देखिएको छ। मुख्यमन्त्री शंकर पोखरेलमाथि परेको अविश्वासको प्रस्ताव टेबुल हुने कुरासँगै पोखरेलले राजीनामा दिएका थिए। राजीनामा लगत्तै नेकपा एमालेका सांसदीय दलका नेता समेत रहेका पोखरेल नेतृत्वको एकल सरकार बनाउने प्रस्ताव प्रदेश प्रमुखकहाँ पुर्‍याइएको थियो। तर, सांसद विमला वलीले माओवादी रोजेको खबरपछि पासा पल्टियो।

कानुन अनुसार आजै हुने सपथ ग्रहण रोक्नका लागि अविश्वास प्रस्ताव दर्ता गरेका ४ दल सरकार गठनको लागि ४० प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर प्रदेशसभामा पुगेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताहरु पुगेर प्रदेश प्रमुख समक्ष प्रस्ताव पेश गरी पोखरेलको सपथ ग्रहण रोक्न आग्रह गरेका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले कानुनी प्रक्रिया अनुरुप अगाडि बढ्ने बताएको नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। उनले ४ दलको संयुक्त सरकार बन्ने दाबी गर्दै यसको नेतृत्व कुलप्रसाद केसीले गर्ने बताए।

उनले आफूहरुसँग ४३ जनाको साथ रहेको दाबी गर्दै अहिले ४० जनाको हस्ताक्षर बुझाएको बताए। उनले नेकपा एमालेकै ४/५ सांसदले पनि आफूहरुलाई सहयोग गर्ने दाबी छ।

उनले शंकर पोखरेल विश्वासको मत लिनबाट डराएको आरोप लगाए। उनले विश्वासको मत लिन नसकेर सांसद अधिवेशन अन्त्य गराएको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell