काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने बताएको बालुवाटार स्रोतले जानकारी दियो।
आइतबार नै बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा समेत ओलीले विश्वासको मत लिने विषयमा छलफल गरेका थिए। ओली निकट मानिने नेता सुवास नेम्वाङले विश्वासको मत लिने विषयमा निर्णय भइनसकेको बताए। तर प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिन सक्ने बताए।
'संविधान अनुसार उहाँले लिन सक्नुहुन्छ। तर अहिले नै फाइनल डिसिजन भइसकेको छैन्,' उनले भने।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरेसँगै माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन ओलीले चुनौती दिँदै आएका थिए। माओवादी केन्द्रले भने नयाँ सरकार गठनका लागि पहल भइरहेको र बलियो गठबन्धन नबनेसम्म समर्थन फिर्ता नहुने जनाएको छ।
