PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

 नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरले गर्दा देश पोहोरकै अवस्थामा पुगेको छ। कोभिडको त्रास र अन्योलबिच घरभित्रै थुनिएका छन् जनता।

पोहोर सालको लकडाउनले पनि हामीले धेरै कुरा सिक्न सकेनौं। न त शैक्षिक क्षेत्र नै चलायमान हुन सक्यो न त जनताको जीवन शैली नै। ३१ जिल्लामा भएको निषेधाज्ञाले नागरिको जिजीविषा नै ठप्प पारेको छ।

सबै क्षेत्र ठप्प हुँदा यसपटक खेल क्षेत्र भने चलामान छ। समग्र खेलकुदको प्रतिनिधित्व गर्दै नेपाल सुपर लिग (एनएसएल) संचालन भइरहेको छ काठमाडौंमा। देशभर पहिचान भएका संक्रमित मध्ये सबैभन्दा बढी अहिले काठमाडौंमा नै देखिएका छन्। यसबिच एनएसएल संचालन भइरहेकोमा आलोचना समेत भएको छ। तर यसलाई संक्रमणको त्रासबिच 'एन्टरटेन्मेन्ट' को साध्यका रुपमा व्याख्य गर्ने जमात समेत छ।

भारतमा हाल भइरहेको 'आइपिएल' जस्तै। कोरोना संक्रमणबाट आक्रान्त बनेको भारतको राजधानी दिल्लीमा आइपिएलका खेल संचालन भएको आलोचना जति भयो त्यसलाई 'एन्टरटेन्टमेन्ट' भन्ने समूह पनि थिए।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दर्शकबिहिन बन्द रंगशालामा एनएसएल अघिल्लो साता सुरु भएको थियो। निषेधाज्ञामा खेलाडी, अफिसियल, आयोजक र सीमित पत्रकारहरु पुगिरहेका छन् स्टेडियम। 

बाहिरको अवस्था त्रासपूर्ण किन नहोस् फुटबल भने राम्ररी चलिरहेको छ। ए डिभिजन लिगका क्लबहरुले वर्षौको इतिहासमा गर्न नसकेको ‘मार्केटिङ’ निजी क्लबहरुले पहिलो सिजनमा नै गरेका छन्। यी त भए एनएसएलका मीठा कुरा।

तर, सबै कुरा मीठो भने छैन। केही तिता अनुभवहरु पनि छन्।

पहिलो कुरा त केही फ्रेन्चाइजहरु खेलको सेड्युलबाटै असन्तुष्ट छन्। प्वाक्क बोलिहाल्न त सकेका छैनन् तर सेड्युललाई लिएर धेरै क्लबहरु असन्तुष्ट छन्।

काठमाडौं रेजर्सलाई अनुकूल हुने गरि सेड्युल बनाइएको आरोप अन्य फ्रेन्चाइजहरुले लगाएका छन्। काठमाडौं बाहेकका फ्रेन्चाइजहरुलाई रेस्ट टाइमसमेत नपुग्ने गरी सेड्युल रहेको देखिन्छ। जसको प्रभाव खेलमै पनि देखिन्छ।

उदाहरणलाई लिउँ धनगढी एफसीको पछिल्लो टाइट सेड्युल। १२ गते पहिलो लिगको खेल खेलेको धनगढीले क्रमश १४ गते, १६ गते र १८ गते खेल खेल्यो। अझ १६ गते साढे ५ बजे खेलेको धनगढीले १८ गते साढे २ बजे खेलेको थियो। टिमलाई ४८ घण्टासमेत रेस्ट मिलेको थिएन। उक्त टोलीले बाँकी खेल २२ गते र २५ गते खेल खेल्दैछ।

जबकी काठमाडौं रेजर्स सबैभन्दा फाइदामा देखिएको छ। उद्घाटन खेलमा ११ गते ललितपुर सिटीसँग खेलेको काठमाडौंले दोस्रो खेल १४ गते, तेस्रो खेल १७ गते खेल्यो। अब चौथो खेल २१ गते, पाँचौ खेल २३ गते र  लिग चरणको अन्तिम खेल २६ गते खेल्ने छ। यसरी हेर्दा धनगढीले तीन खेलमा लगातार एक दिनको मात्र ग्यापमा खेलेको छ भने काठमाडौंको त्यो अवस्था छैन। 

त्यसमाथि काठमाडौं रेजर्सले प्रशिक्षकका रुपमा बालगोपाल महर्जनलाई भित्र्याउँदै आलोचना भएको थियो। महर्जनले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिँदै गर्दा काठमाडौं रेजर्समा आबद्ध भएका थिए। रेजर्समा आबद्ध भएपछि पनि उनले त्रिदेशीय सिरिजमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए। त्यतिबेला पनि स्वार्थ बाझिएको भन्ने चर्चा खेलबृत्तमा चलेको थियो। भलै त्यसपछि नेपाली टोलीको प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्ला अलमुताइरी आइसकेका छन्। 

पछिल्लो खेलमा रेफ्रीको निर्णयलाई लिएर ठूलै आलोचना भयो। हुन त रेफ्रीको निर्णयमा कुनै एक पक्षको चित्त नबुझ्न सक्छ तर शनिवारको खेलमा त्यसो भएन। २-२ को बराबरी खेलेका विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसीका प्रशिक्षकले रेफ्रीको निर्णयको खुलेरै आलोचना गरे।

विदेशी खेलाडी र प्रशिक्षक भित्र्याउनमा एक तहमाथि उठेको एनएसएलमा रेफ्रीमा ध्यान नपुगेको हो कि? बुटवल लुम्बिनी र विराटनगरबीचको हिजोको खेलमा खेलकै क्रममा पनि तनावको स्थिति बन्ला जस्तो देखिएको थियो। खेलपछि असन्तुष्ट देखिएका विराटनगरका प्रशिक्षक यान लले पत्रकारहरुसँग खुलेरै रेफ्रीको निर्णयको आलोचना गरे। भारतीय शीर्ष लिग आईलिगमा समेत प्रशिक्षण गराइसकेका यानले रेफ्रीका यस्ता निर्णयले नेपाली फुटबलको विकासमा नै नकारात्मक असर गर्ने तर्क अघि सारे। 

‘आजको खेलमा हामी विजयी भएका थियौं भने पनि रेफ्रीको विषयमा मेरो यही प्रतिक्रिया हुने थियो,’ उनले भने, ‘रेफ्रीको निर्णय प्रति म मात्र होइन दुवै पक्ष असन्तुष्ट छौं।’

उनले एनएसएलको अन्य पक्ष राम्रो भए पनि रेफ्रीको यस्तो निर्णयले खेलको विकास हुन नसक्ने दाबी गरे। बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले समेत रेफ्रीको निर्णयहरु सही नभएको बताएका थिए।

उक्त खेलमा रेफ्री थिए प्रज्वल क्षेत्री। त्यस्तै, एसिस्टेन्ट रेफ्रीमा युनाल मल्ल र किशन यादव थिए। खेलका क्रममा बुटवल लुम्बिनीका दुई र विराटनगर सिटीका तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए। 

विराटनगरले फ्रि-किकबाट गोल गरेको थियो जुन फ्रि-किक आवश्यक नरहेको बुटवलका प्रशिक्षक श्रेष्ठको ठहर छ। त्यस्तै यसअघि पनि ललितपुरले गरेको गोलमा अफसाइड दिँदा प्रशिक्षकले आलोचना ब्यहोरेका थिए। जुन भिडियोमा हेर्दा गोल देखिन्छ। 

शनिवार नै धनगढी र एफसी चितवनबीचको खेलमा पनि त्यस्तै अफसाइड दिइएको देखिन्छ। त्यसैले त विराटनगरका प्रशिक्षक यानले नेपालको जस्तो रेफ्रीको निर्णय अन्त कहीँ नदेखेको प्रतिक्रिया दिए।

सुरक्षा मापदण्डको कुरा

देशभर सबै खेलकुद कोरोना महामारीका कारण ठप्प रहँदा एनएसएल चलिरहेको छ। सीसीएमसीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत सुरक्षा मापदण्डहरुको प्रत्याभुति दिलाएपछि मात्र अनुमती पाएको हो एनएसएलले।

एनएसएलका निर्देशक श्रेयान्स कार्की खेलाडीहरुको फ्रिक्वेन्ट कोभिड टेस्टदेखि स्टेडियमको सबै क्षेत्रमा खेल सुरु हुनु अघि डिसइन्फेक्टसम्म सुरक्षा अपनाइएको बताउँछन्। त्यस्तै सबैभन्दा महत्वपूर्ण पक्ष भनेको दर्शक स्टेडियममा उपस्थित छैनन्। 

यस्तै, मैदानमा उपस्थित हुने अफिसियल लगायतले पनि कोभिडको मापदण्ड कडाइका साथ पालना गराइरहेको आयोजकको दाबी छ। हालसम्म एनएसएलमा कसैलाई पनि कोभिड १९ संक्रमण देखिएको छैन।

कोभिड गाइडलाइन्सबारे खेलाडीहरूलाई ब्रिफिङ गरिसकेको र मैदान प्रवेश गर्नुअघि थर्मल स्क्रिनिङ गर्ने गरिएको छ। यदि त्यसमा तापक्रम बढी देखिए एन्टिजेन परीक्षण गरिने आयोजकले जनाएको छ। यदि एक जना खेलाडीलाई कोभिड भए सबै टिमका खेलाडीको कोभिड परीक्षण गर्ने र टिममा धेरै जना खेलाडीको कोभिड पोजेटिभ देखिए अक्सनमा 'अनसोल्ड' रहेका बी र सी क्याटेगोरीका खेलाडीसँग प्रतिस्थापन गराउने गरी व्यवस्था गरिएको आयोजकले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell