जनकपुरधामः कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले बुधबारदेखि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने बताए। प्रजिअ भट्टराईले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल ९ दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी हुने बताए।
यस्तै जिल्लाका सबै पालिकाहरुले आफ्ना बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन सिलिण्डर हाललाई न्यूनतम रुपमा २०–२० वटा खरिद गरी व्यवस्थापन गर्ने तथा थप सिलिण्डर व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गर्ने डिसिसिएमसीको बैठकले निर्णय पनि गरेको छ।
प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ। विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य मापदण्ड पालना गर्नेगरि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभ विवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ।
निषेधाज्ञामा निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ। आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।