काठमाडौंः विवादका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनले विरोध गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ गराइएको हो।
आइतबार बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। राजीनामा लगत्तै बसेको संसदीय दलको बैठकले सभामा तत्काल कायम रहेका सदस्य संख्याको आधारमा नेकपा (एमाले) को एकल बहुमत रहेको भन्दै पोखरेललाई मुख्यमन्त्री सिफारिस गरेको थियो। दलको सिफारिस अनुसार प्रदेश प्रमुख यादवले अपराह्न नै नियुक्ति गरेका थिए। तर, विरोधका कारण शपथ भने लम्बिएको थियो।
एमालेको एकल बहुमत रहेको दाबी गरिए पनि एमालेले गणना गरेका तीन सांसद गठबन्धनतिर लागेका छन्। एक जनाले भने पोखरेलको पुनः नियुक्तिमा असन्तुष्टि जनाएर राजीनामा नै दिएका छन्।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बाट उपनिर्वाचनमा विजयी विमला वलीले माओवादी केन्द्र रोजेकी छन्। भने, एमालेबाट निर्वाचन तीनमध्ये दुई गठनबन्धतिर लागेका छन्।
८७ सदस्यीय प्रदेश ५ को सभामा हाल ८१ सदस्य छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्नेछ।
