काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको आज पाँचैं दिन। कोरोना संक्रमण रोकथाम गर्न भन्दै देशभरका ४० भन्दा बढी जिल्लामा पूर्ण या आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै कोभिड संक्रमित थपिइरहेका छन्। त्यसैले पनि अति प्रभावित मानिसको काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप कडा बनाउने तयारी भइरहेको छ।
उपत्यकाका मुख्य सडकमा अघिल्लो दिनको तुलनामा सवारी साधनमा कमी आएको छ। हिँड्ने मानिसको सङ्ख्या घटेको छ। तर, भित्री सडकमा भने पसलदेखि मानिसको चहलपहल यथावत देखिन्छ। त्यस्तै स्थानीय प्रशासनले आजदेखि भित्री सडकमा समेत कडाइ गर्ने भएको छ। भित्री सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीसहितको टोलीले आज बिहानबाट नै भित्री सडकको अनुगमन गरेको छ।
'भित्रभित्रै पसल खुलेका र मानिसहरुले नियम नमान्ने गरेको जानकारी आएपछि आजबाट भित्री सडकमा समेत सुरक्षाकर्मी खटाइएको छ। अब थप कडा पार्दै जानेछौं,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
बिहीवार बिहानदेखि लगाएको निषेधाज्ञा बुधवारबाट सकिँदै छ। तर, मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। त्यसैले बुधवारबाट काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप्ने तयारी गरिरहेको छ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले सोमवारबाट आन्तरिक र भारतसँग हुने हवाई उडान समेत रोक लगाएको छ। त्यस्तै, काठमाडौं उपत्यकाभित्र थप कडाइ गर्न समेत स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। तर, मन्त्रिपरिषद्ले गरेको निर्णयको लिखित जानकारी जिल्ला प्रशासन कार्यालयलाई आइसकेको छैन। लिखितपत्र आएपछि काठमाडौं उपत्यकाभित्रका तीन वटै सीडीओको बैठकले निषेधाज्ञा थप गर्ने र कडा बनाउने तयारी गरेको छ।
'आज वा भोलि हामी बसेर थप निषेधाज्ञाको समय तोक्नेछौं। अनि कुनकुन सेक्टरलाई थप कडा गर्ने निर्णय गर्छौं,' सीडीओ पराजुलीले भने।
आइतवारमात्रै देशभर ७ हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ। यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै, काठमाडौं उपत्यकाभित्र मात्र ३ हजार ५ सय जनामा सक्रमण देखिएको छ। यो देशभर देखिएका संक्रमतिको आधाभन्दा धेरै हो। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र संक्रमणको जोखिम अन्य जिल्लाको तुलनामा धेरै देखिन्छ।
