काठमाडौं: लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसद मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेलकै पक्षमा फर्किएका छन्।
आइतवार विहान पोखरेललाई मुख्यमन्त्री बनाउने हस्ताक्षर गरेर साँझ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं मुख्यमन्त्रीका दाबेदार कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका स्वतन्त्र सांसदद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले सोमवार दिउँसो विज्ञप्ति जारी गरेर आफूहरु पोखरेलकै पक्षमा रहेको स्पष्ट पारेका छन्। उनीहरुले माओवादी नेता केसीसमेतले सरकार गठनका सन्दर्भमा गरिएको दावीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनीयत र त्रुटिपूर्ण रहेको उल्लेख गरेका छन्।
२०७४ मंसिर सम्पन्न प्रदेशसभा चुनावमा सूर्य चिन्ह लिएर श्रीवास्तव कपिलवस्तु २ (ख) र शाही नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख) बाट स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए। उनीहरु संघ सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका कार्यकर्ता हुन्।
दुबै जनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं। दलप्रति प्रतिबद्ध हुनु कानुनी र राजनीतिक रुपमा स्वभाविक विषय हो। दलका नेता मुख्यमन्त्री शंकर पोखरेलप्रति हाम्रो समर्थन रहेको स्पष्ट पार्न चाहन्छौं।’
लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित पोखरेल आइतवार पुन मुख्यमन्त्री नियुक्त भएर सपथ लिइसकेका छन्। उनको पक्षमा हस्ताक्षर गरेका एमाले सांसद दिर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् भने नेकपा हुँदा उपनिर्वाचनमा सूर्य चिन्हबाट निर्वाचित सांसद विमला वलीले माओवादी रोजेकी छन्।
