- रिना थापा-
पोखरा : गण्डकी प्रदेशमा स्थगित प्रदेश सभाको विशेष अधिवेशन कहिले डाक्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेन। अधिवेशन बोलाउन आज बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्दै वैशाख १३ मा सुरु भएको विशेष अधिवेशन १५ गते स्थगित भएको थियो। मतदानका दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि संसद स्थगित भएको थियो।
त्यसपश्चात संसद खुलाउने कार्यसुची तयार पार्न आज सर्वदलीय बैठकमा नेताहरु जुटेका थिए।
बिहान साढे ११ बजेदेखि सुरु भएको बैठक करिब ३ घण्टा चले पनि निष्कर्ष नआएपछि छलफल भोलिका लागि तय गरिएको छ।
नेपाली कांग्रेसका सांसद कुमार खड्काले १५ गतेको घटना समीक्षा गर्दै सोमवार बैठकको मिति तोकिने बताए। 'आज टुंगोमा पुग्न सकिएन,' खड्काले भने, 'भोलि दलका नेतासँग सामुहिक छलफल गरी मिति तोक्ने छौँ।'
सत्तारुढ दल नेकपा एमालेका सांसद कृष्ण थापाले आज सांसदहरूले धारणा प्रस्तुत गरेको जनाउँदै भोलि कार्यसुचीबारे टुंगो लाग्ने बताए।
त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टीका हरिशरण आचार्य सभामुखको स्पष्ट धारण के हो? भनी प्रश्न गरेका थिए।
चैत २५ गते माओवादी केन्द्रले प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्रीको पद धरापमा परेको हो। दुई मन्त्री फिर्ता भएको मौकामा विपक्षी दल नेपाली कांग्रेसले वैशाख ६ गते मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष अधिवेशनको माग गरेको हो। यद्यपि मुख्यमन्त्री गुरुङले आफ्नो सत्ता जोगाउन दीपक मनाङे(राजीव गुरुङ)लाई मन्त्रीमा नियुक्त गरिसकेका छन्।
सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्।