महेन्द्रनगर : कोभिड १९ को दोस्रो लहरको संक्रमणले अस्पतालमा अक्सिजन नपाएर संक्रमितले मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली उप-प्रादेशिक अस्पताललाई निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउने भएका छन्।
यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक शुशील श्रेष्ठ र महेन्द्रनगरमा युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड हरिकुमार श्रेष्ठसित पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने सम्झौता गरेका हुन्।
सम्झौतामा स्थानीय अक्सिजन सप्लार्यरसित समन्वय गरेर दुवै पक्षले दैनिक रुपमा सिलिण्डर उपलब्ध गराउने र धनगढी र नेपालगञ्जबाट अक्सिजन ल्याएर श्रेष्ठ र मल्लले अस्पताललाई दिने उल्लेख छ।
‘दैनिकजसो यहाँ संक्रमितहरु अक्सिजन नपाएर छट्पटिएको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन दिने निर्णयमा पुग्यौ,’ युवा व्यवसायी मल्लले भने ‘यस्तो महामारीका बेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर दुखः टार्नु पर्छ।’
उनले महाकाली अस्पतालमा अक्सिजन नपाएकै कारण पनि संक्रमितको मृत्यु भएको घटना सुनिएको बताए। ‘हुनेखानेले हेलिकोप्टर चार्टर गरेर पनि सुविधा भएका ठाउँमा उपचार गर्लान,’ उनले भने, ‘विपन्न समुदायका संक्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले पनि स्थानीय ठाउँमा सहयोग र सर्मथन गरौ भन्ने हो।’
गत बर्ष मल्ल र श्रेष्ठ नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको टोलीले भारतबाट कोरोनाको त्रासमा स्वदेश फर्किने नेपालीहरुलाई भोजन र पानीको निःशुल्क व्यवस्थापन समेत गरेको थियो।
‘त्यो बेला सबै साथीहरुले साथ र सहयोगले १८ हजार नागरिकलाई सीमानामा भोजनको व्यवस्था गरिएको थियो,’ उनले स्मरण गरे, ‘समस्या पर्दा राज्यको मुख ताक्नु भन्दा पनि समाजमा हातेमालो गरेर काम गर्ने हो।’ महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपूर्ति पनि बढाउँदै लगिने मल्लको भनाई छ।
त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाहरुले देखाएको सहयोगी भावले संक्रमितको स्वास्थ्य उपचारमा सहजता आउने बताए। ‘यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुविधा अपुग हुँदा पनि अहोरात्र सेवामा हुनुहुन्छ,’ उनले भने, ‘यस्तो विपतमा सबैले सहयोग गर्नुपर्छ।’
महाकाली अस्पतालमा कोरोना संक्रमितको चाप दिन प्रतिदिन बढ्दै गइरहेको छ। अस्पतालका आईसीयू बेड संक्रमितले भरिएका छन्। कोरोना परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ।
