कैलाली : सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ह्युमानिटी फाउन्डेसन नेपालले अक्सिजन सहयोगको थालनी गरेको छ। सोमवार बिहान कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएर अभियान शुरु गरिएको हो।
फाउन्डेसनका सदस्यहरूको सहयोगमा सोमवार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउन्डेसन नेपालका संस्थापक श्याम तायलले बताए। उनका अनुसार आज नै २२ सिलिन्डर डडेलधुरा अस्पताललाई उपलब्ध गराउने जनाएको छ। यस्तै, कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सो अभियान सञ्चालन गरेको फाउन्डेसन जनाएको छ। अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिन्डर उपलब्ध गराउन अपिल गरेको थियो।
फाउन्डेसनका सदस्य दीर्घ राज उपाध्यायले बजारमा रहेका खाली सिलिन्डर आफूहरूलाई उपलब्ध गराइदिन समेत अपिल गरे। उनले खाली सिलिन्डर आफूहरूलाई उपलब्ध गराए अस्पताललाई अक्सिजन भरेर हस्तान्तर गरिने भन्दै सार्वजनिक रूपमा अपिल गरेका छन्।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले अहिले अक्सिजनको अभावमा बिरामीको ज्यान जोगाउन धौ धौ परिरहेको बताए।
‘हामीसँग अक्सिजन भरिएका होइन खाली सिलिन्डरको समेत अभाव छ’, उनले भने, ‘खाली सिलिन्डर मात्रै पाए पनि त्यसलाई भरेर बिरामीलाई अस्पतालकै आसपास कतै राखेर भए पनि उपचार त गर्न सकिन्थ्यो।’
अहिले सुदूरपश्चिमका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन्।