PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

४ दलले गरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा



पूजा पन्थी

४ दलले गरे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा

बुटवल : लुम्बिनी प्रदेश सरकारको विपक्षमा रहेको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई आफूहरुले 'खारेज' गरेको घोषणा गरेका छन्। प्रदेश प्रमुखले बहुमतमाथि दमन गरी अल्पमतमा रहेका पोखरेललाई नियुक्त गरेको भन्दै उनीहरुले खारेजीको घोषणा गरेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेललाई 'खारेज' गरेको घोषणा गरेका छन्। बहुमतको गठबन्धनको तर्फबाट सपथ ग्रहण रोक्न निवेदन दर्ता भई जाँचबुझ गर्न माग गरेको अवस्थामा प्रहरी दमन गरी अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेको उनीहरुको आरोप छ।

यस्तै, प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुको विशेषाधिकार हनन् गरी संसदीय प्रकृया पूरा नै नगरी विशेष अधिवेशन आह्वान गरेकै दिन अन्त्य गरिएकोमा रोष व्यक्त गरेका छन्। प्रदेश प्रमुखको यो कदम असंवैधानिक, पदीय मर्यादा विपरीत र गैरजिम्मेवार रहेको भन्दै ती दलहरुले प्रदेश प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन्।

नेपाली कांग्रेसका दल नेता बिरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्रका दल नेता कुल प्रसाद केसी, जसपाका दल नेता सहसराम चौधरी र राजमोकी तारा जिसीद्वारा जारी प्रेस विज्ञप्तीमा मुख्यमन्त्रीमाथि आपराधिक आरोप लगाएको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य विमला कुमारी वलीको किर्ते दस्तखत गरी संसदीय दलको निर्णय गरेको आरोप लगाएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीले बहुमतलाई बेवास्ता गरेर अल्पमतको पार्टीको व्यक्तिलाई मुख्यमन्त्री बनाएकोप्रति आक्रोश व्यक्त गरे। उनले भद्दा मजाक नाटक, लोकतान्त्रको उपहास, संविधानको उल्लंघन भएको टिप्पणी गरे। उनले मान्छे नै नभएको व्यक्तिको हस्ताक्षर गरेर बहुमत गरेको बताउदै किर्ते र झुटको राजनीति पोखरेलले गरेको बताए। लोकतन्त्र र संविधानको रक्षाको लागि ऐतिहासिक गठबन्धन बनेको उनले बताए।

नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द कनौडियाले प्रदेश प्रमुखलाई तत्काल बर्खास्त गर्न माग गरे। उनले महिला प्रदेशसभा सदस्यको संवेदनशिल अंगमा हातपात गर्ने दोषीमाथि छानबिन गर्न माग गरे। अल्पमत अराजनीतिक तरिकाले सपथ प्रजातन्त्रको ईतिहासमा कालो टिको लगाएको बताउदै नियम कानुन मिचेर सत्तामा टाँसिएको बताए। उनले तानाशाही शासन चलाएको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell