PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण



राधेश्याम पटेल

वीरगंजमा २६ र ३४ वर्षीय दुई संक्रमितको मृत्यु, थप ११५ जनामा देखियो संक्रमण
PHOTO : REUTERS

वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

वीरगंज १६ का २६ वर्षका युवाको नारायणी अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो भने पर्साको पर्सागढी ९ का ३४ वर्षीय पुरुषको गएराति साढे ७ बजे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजस्थित बाबा होटलको कोभिड अस्पताल नगवामा मृत्यु भएको हो।

वीरगंज १६ का युवालाई श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १६ गते अस्पताल भर्ना गरि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। उनको मृत्यु कडा खाले निमोनियाले गर्दा भएको चिकित्सकले बताएका छन्।

यसैगरी पर्सागढीका ३४ वर्षीय पुरुष वैशाख ७ गते नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा थिए। वैशाख १८ गते अस्पताल भर्ना भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बचाउन नसकिएको कोभिड अस्पतालका चिकित्सकको भनाइ छ।

यससँगै नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा हालसम्म ३ जना, नारायणी बयोधामा एक भारतीय गरी तीन जना र नारायणी अस्पतालमा २७ जना गरी कुल ३३ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।

चैत ३१ गतेदेखि मृत्युदर उच्च रहे पनि गत बिहीवारदेखि लगाइएको हप्ते निषेधाज्ञाले मृत्युदरमा कमी आएको संकेत देखिएको छ।

११५ जना संक्रमित

यसैगरी, सोमवार अबेर राति आएको पीसीआर नतिजाअनुसार वीरगंजमा थप ११५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ५ वर्षदेखि ८० वर्ष उमेर समूहका ८४ पुरुष र ३१ महिला गरी कुल ११५ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी दिए। उनीहरुको सिटी भ्यालु १७ देखि ३५ दशमलव ६ रहेको छ। ११५ जनामध्ये पर्साका ८७, बाराका २४, रौतहटका ४ जना रहेका छन्। यो संगै पर्सामा १५९८ सक्रिय संक्रमित पुगेका छन् भने प्रदेश २ मा ३ हजार २८३ सक्रिय संक्रमित पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell