PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कैलालीको गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन, संरचना निर्माणका लागि सेना खटाइयो



एम बम

कैलालीको गेटा मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन, संरचना निर्माणका लागि सेना खटाइयो

कैलाली : कैलालीको गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन स्थापनाको कार्य सुरु गरिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरसफाइ तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको जानकारी दिए। तत्काललाई ५ सय बेडको आइसोलेसन स्थापना गर्न लागिएको हो। अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्‍यापिड एक्सन टिम समेत बनाइने जानकारी दिए।

मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेको थियो।

सुदूरपश्चिम प्रदेशमा अहिले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युदर तीव्र बढिरहेको छ। अस्पतालहरूमा संक्रमितलाई राख्न ठाउँ समेत छैन। सीमानाकाबाट आइरहेका मानिसलाई व्यवस्थापन गर्न नसक्दा बढिरहेको जोखिमलाई कम गर्न त्यहाँ होल्डिङ्ग सेन्टर समेत बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जनाएको छ।

तर चिकित्सकहरूले भएकै अस्पतालमा समेत अक्सिजन अभाव भइरहेकाले त्यसतर्फ सजग भएर थप संरचना तयार पारिनुपर्ने बताएका छन्। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले गेटा मेडिकल कलेजमा अक्सिजनको आपूर्ति तथा जटिल प्रकृतिका संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण सञ्चालनमा सकस हुने भएकाले त्यता पनि सोचविचार गरेर संरचना बनाउन सुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell