PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मुस्ताङमा सुटिङ सकाएर फर्कियो भारतीय फिल्म 'थिरिमालि' को टिम, 'छायाङ्कन गर्दा मिचिएको छैन स्वास्थ्य मापदण्ड'



लक्ष्मी बलायर

 मुस्ताङमा सुटिङ सकाएर फर्कियो भारतीय फिल्म 'थिरिमालि' को टिम, 'छायाङ्कन गर्दा मिचिएको छैन स्वास्थ्य मापदण्ड'

देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ। संक्रमणको चेन ब्रेक गर्न ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा थपिने क्रम पनि बढेको छ।

यसबिच मुस्ताङमा पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। यद्यपि, त्यहाँ निषेधाज्ञा लागू गरिएको छैन। यसबिच त्यहाँ भइरहेको फिल्म सुटिङ विवादमा तानिए। भारतीय फिल्म ‘थिरिमालि’ को छायाङ्कन स्वास्थ्य मापदण्ड पालना नगरी भइरहेको र स्थानीय त्रसित भएको भन्दै केही संचारमाध्यमले समाचार प्रकाशित गरेका थिए।

साउथ फिल्म ‘थिरिमालि’ दक्षिण भारतको चारवटा भाषामा रिलिज हुनेछ। फिल्ममा भारतीय निर्माता एसके लारेन्स र नेपालको तर्फबाट सरोज न्यौपानेको संयुक्त लगानी रहेको छ। उक्त फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्कादेखि माओत्से गुरुङ र उमेश तामाङ सम्मको अभिनय रहेको छ। नेपाली र भारतीय लगानीमा निर्माण भइरहेको दक्षिण भारतीय फिल्मको सुटिङलाई लिएर प्रश्न उठेपछि निर्माण पक्षले स्पष्टीकरण दिएको छ।

फिल्म निर्माता सरोज न्यौपाने केही समाचार माध्यममा आए जस्तो स्वास्थ्य मापदण्ड मिचेर फिल्म सुटिङ नभएको दाबी गर्छन्। उनले साउथ फिल्म ‘थिरिमालि’ टिम एकहप्ताअघि फिल्मको छायाङ्कन गर्न मुस्ताङ पुगेको थियो। निर्माता न्यौपानेले सम्पुर्ण मापदण्ड पुरा गर्नुका साथै गाउँपालिका देखि वडा अध्यक्ष र मुखियासम्मको अनुमति लिएर सुटिङ गरेको बताए।

उनले सुटिङ सकेर टोली फर्किसकेको र केही व्यक्ति भारतको केरल फर्किसकेको समेत बताए। तर समाचारमा भने अझै केही दिन सुटिङ चल्ने भनेर उल्लेख गरिएको प्रति उनले असहमति व्यक्त गरे। कोरोना संक्रमणको अवस्था सामान्य भएपछि बांकी फिल्मको सुटिङ केरलमा हुनेछ।

‘सबै मापदण्ड अपनाएर जम्मा ४२ जनाको टिम सुटिङ गर्न मुस्ताङ गएका हौँ। मापदण्द मिचेको भए त गाउँलेहरुले नै बस्न दिदैनन् नि। कानुन तोडेर हामी कहाँ सुटिङ गर्न सक्छौँ र। तर समाचार बनाउनेले जे पायो त्यहि लेखेको छ।’ उनले गुनासो गरे।

मुस्ताङ जिल्लाकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले पनि फिल्म 'थिरिमालि' टिमले संचार मन्त्रालयबाट अनुमति लिएर आएकाले आफुले पनि सुटिङ गर्न अनुमति दिएको बताइन्।

भन्छिन् 'फिल्म टिम आउँदा आउँदै कोरोना बढ्दै थियो। फिल्म टिमले सुटिङको निश्चित समय अवधि बनाएर हामीसँग समन्वय गर्नुभएको थियो। साथै उहाँहरु सुटिङ सकेर फर्किसक्नु भएको छ।'

अहिले मुस्ताङमा निषेधाज्ञा भने लागु गरिएको छैन। तर मठमन्दिर तथा धार्मिक स्थलहरुमा बैशाख मसान्तसम्म पूजा गर्न र धेरै भिडभाड गर्न रोक लगाइएको छ। जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा निषेधाज्ञा जारी गर्ने पौडेलले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell