PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

माओवादी केन्द्रले धनुषाका एक मेयरसहित तीन उपमेयरलाई सोध्यो स्पष्टीकरण

जनकपुरधाम : धनुषाका माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित तीन उपमेयरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रले धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, विदेह नगरपालिकाकी उपप्रमुख निलम देवी मण्डल, शहीदनगर नगरपालिकाकाकी उपप्रमुख शिला देवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई स्पष्टीकरण सोधेको हो।

माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दीपक यादवले संयुक्त हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा चारै जनालाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ। उनीहरुलाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै लिखित स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ।

‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्के तापनि पार्टीको कार्यक्रमहरुमा तपाईँको सहभागिता के कति कारण भइरहेको छैन, तपाईँको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईँले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्नसहितको जवाफ दिनुहोला,’ पत्रमा  भनिएको छ।

पहिलो चरणमा स्पष्टीकरण सोधेको माओवादीले जवाफ प्राप्त भएपछि मात्र कुनै प्रकारको निर्णय लिने जनाएको छ।

यस्तै, नेकपा माओवादी केन्द्र महोत्तरीका अध्यक्ष तुलसीप्रसाद ढुंगानाले सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई समेत अन्य पार्टीको गतिविधिमा संलग्न भएको भन्दै चित्तबुझ्दो स्पष्टीकरण मागेका छन्। तर, अध्यक्ष फारुकले भने स्पष्टीकरणको जवाफ दिँदै आफू माओवादी केन्द्र परित्याग नगरेको, पार्टीविरुद्ध कुनै किसिमको क्रियाकलाप नगरी आधिकारिक निर्देशन पालन गर्दै आएको दाबी गरेका छन्।

केहि दिनअघि मात्र ओली पक्षमा लागेको भन्दै माओवादी केन्द्रले रौतहटका दुई मेयरसहित पाँच उपमेयरलाई पार्टीबाट निस्काशन गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell