PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान



रिना थापा

गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान
फाइल फोटो।

पोखरा : बैशाख १५ गते अनिश्चितकालका लागि स्थगित गण्डकी प्रदेशसभा बैठक अब कहिले हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन। मंगलवार बसेको सर्वदलीय बैठकले समेत यसबारे निर्णय लिन सकेन।

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमाङले दलको आ-आफ्नो अडानले संसद सञ्चालन कहिले गर्ने भन्नेबारे निर्णय लिन नसकेको जानकारी दिए।

‘मुख्यमन्त्रीको तर्क ३१ गतेसम्म लकडाउन छ, त्यसपछि संसद चलाउने भन्ने थियो’, उनले भने, ‘दलले यो हप्ता निर्णय गरेर टुंगो लगाउने भनेको छ, त्यसैले सबैको आफ्नै अडान भयो।’

त्यसैगरी, जसपा संसदीय दलका नेता हरिशरण आचार्यले मुख्यमन्त्री पदमा रहेर अभिभावक भएको नेताले घुर्की लगाउन नमिल्ने जनाएका छन्। प्रदेशलाई आफ्नो इच्छाबमोजिम राजनीतिक बन्धक बनाएर राख्न नमिल्ने उनको भनाइ छ।

‘अभिभावक भएको नाताले अरुलाई घुर्की लगाउने होइन’, उनले भने, ‘उहाँले सभामुखलाई प्रेसर दिएर तत्काल बैठक गर्न सकिँदैन भन्नुभयो राजनीतिक रुपमा प्रदेश बन्धक हुन्छ।’

बैठकमा उपस्थिति दलका नेताका अनुसार मुख्यमन्त्रीले जारी निषेधाज्ञा पछि कार्यव्यवस्था बैठक राखेर त्यसको केही दिनमा संसद सञ्चालन गर्ने धारण राखेका थिए।

यद्यपि, आज बसेको सर्वदलीय बैठकले पर्सी बिहीवार कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउने निर्णय गरेको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गर्दै बैशाख १३ मा विशेष अधिवेशन शुरु भएको थियो। बैशाख १५ गते मतदानका दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि संसद स्थगित भएको थियो।

सत्तापक्षले नै संसद रोक्ने चेतावनी दिइरहँदा स्थगित सभा सञ्चालन गर्ने विषयमा सोमवार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सर्वदलीय बैठकलाई निर्णय लिने जिम्मा दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell