PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

अक्सिजनसँगै जनशक्ति अभावको चपेटामा सुदूरपश्चिमका अस्पताल, स्थानीय तह र प्रदेश सरकारको तयारी न्यून



एम बम

अक्सिजनसँगै जनशक्ति अभावको चपेटामा सुदूरपश्चिमका अस्पताल, स्थानीय तह र प्रदेश सरकारको तयारी न्यून

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ। प्रदेशमा चैतको पहिलो सातामात्रै दोस्रो लहरको कोरोना देखिएको थियो। त्यसको डेढ महिनामै प्रदेशमा महामारी धान्न हम्मेहम्मे परिसकेको छ।

अस्पतालहरूमा बिरामीको चापले नयाँ संक्रमितले भर्ना पाउन मुस्किल परिरहेको छ। तर, त्यसका बाबजुद पनि स्थानीय र प्रदेश सरकारले भने अहिलेसम्म महामारी न्यूनीकरणमा तदारुकता देखाउन सकेका छैनन्। सुदूरपश्चिममा कोरोनाको सबैभन्दा बढी जोखिम भारतबाट हो।

भारतबाट आउने मानिसलाई सीमानाकाबाट व्यवस्थित रूपमा समुदायसम्म पुर्‍याएर १४ दिन क्वारेन्टाइनमा राखे महामारीको जोखिम निकै कम गर्न सकिने चिकित्सकहरूको भनाइ छ। तर, तीनै तहका सरकारहरू त्यसको लागि तयार छैनन्।

अस्पतालमा अक्सिजनको चरम अभाव

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमकै सबैभन्दा ठूलो अस्पताल हो। त्यहीअनुरूप सरकारले कोभिड अस्पतालका रूपमा पनि सर्वाधिक ठूलै अस्पतालको सूचीमा राखेको छ। अहिले सोही अस्पतालको ग्यालरीमा समेत कोरोना संक्रमितको उपचार भइरहेको छ।

‘हामीसँग ५० बेडको अस्थायी कोरोना अस्पतालमा ६३ संक्रमित भर्ना भएका छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले भने, ‘त्यसमध्ये ४० जनाको अवस्था जटिल नै छ। सो अस्पतालमा ठाउँ नभएर अहिले आउने संक्रमितलाई पुरानो भवनमा रहेको इमर्जेन्सी र ग्यालरीमा राखेर उपचार गराइरहेका छौँ।’

उनले थपे, ‘अहिले अस्पताल आउने धेरै जसो जटिल प्रकृतिका संक्रमितमात्रै छन्। अक्सिजन अभावमा बिरामीको ज्यान जोगाउन निकै मुस्किल परिरहेको छ।’

प्रदेशको अर्को ठूलो अस्पताल महाकालीको अवस्था र डडेलधुरा अस्पतालको अवस्था पनि उस्तै छ।

सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएपछि संक्रमितहरू उपचारका लागि भौँतारिदा भौँतारिदै मृत्युवरण गरिरहेका छन्। सुदूरपश्चिममा अक्सिजन उत्पादन गर्ने एक मात्र कम्पनी मालिका अक्सिजन उद्योग धनगढीमा छ। जसले प्रति डेढ घण्टामा ८ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्छ। उसले २० घण्टामा बढीमा १ सय ८० सिलिन्डर मात्र उत्पादन गर्न सक्छ। सुदूरपश्चिममा यति बेला दैनिक ५ सय बढी सिलिन्डरको माग छ।

उत्पादन थोरै र माग धेरै भएका कारण सुदूर पश्चिममा अक्सिजनको अभाव भएको हो। विगतमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति हुने गरेको भएपनि कोरोना संक्रमणले भयावह रूप लिएपछि त्यहाँका अक्सिजन उद्योगहरूले लुम्बिनी र कर्णाली प्रदेशमा समेत अक्सिजन आपूर्ति गर्नुपर्ने भयो। जस कारण त्यहाँका उद्योगले सुदूरपश्चिमलाई कम प्राथमिकतामा राखेर आपूर्तिमा कमी गर्न थाले। मागअनुसार आपूर्ति हुन नसकेपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको हो।

सेती प्रादेशिक अस्पतालमा दैनिक कम्तीमा १ सय सिलिन्डर आवश्यक पर्ने मेसु डा पाण्डेयले बताए। सेती प्रादेशिक अस्पतालले अक्सिजन आपूर्तिका लागि मालिका अक्सिजन उद्योगसँग सम्झौता गरेको छ। उसले प्रति सिलिन्डर चार सय रुपैयाँमा सम्झौता गरेको थियो। जुन रकम बजार मूल्यभन्दा न्यून रहेको उद्योगीहरू बत्ताउँछन्।

प्रदेशमा दक्ष स्वास्थ्य जनशक्तिको पनि उस्तै अभाव छ। सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। जसका लागि एक जना प्राविधिक मात्रै कार्यरत छन्। उक्त प्लान्टले अहिले मागको एक चौथाइ अक्सिजन धानिरहेकोमा एक जना प्राविधिकलाई केही भएको खण्डमा भने जटिल प्रकृतिका संक्रमितको स्वास्थ्य अवस्था तलमाथि हुने स्थिति रहेको मेसु पाण्डेयले बताए। चिकित्सक र नर्सहरूको अभाव प्रदेशमा वर्षौँ पहिलेदेखि खड्किँदै आएको छ।

त्यसैमा अहिले स्वास्थ्यकर्मीहरूनै महामारीको सिकार हुन थालेपछि झनै समस्या भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमानाका व्यवस्थापनमा बेवास्ता

प्रदेशमा चैत ३ गते पहिलो कोरोना संक्रमण केस देखिनेबित्तिकै सीमानाकालाई व्यवस्थित बनाएको भए डेढ महिनामै महामारीको मार धान्न धौधौ पर्ने अवस्था आउने थिएन। तर, त्यसको सट्टा उल्टै तीन तहकै सरकारहरू महामारीको संक्रमणलाई बढवा दिन शक्ति प्रदर्शन, जुलुस सभालगायतका क्रियाकलापमा संलग्न भएपछि अवस्था जटिल बन्दै गएको हो।

‘यो देशका प्रमुख स्वयं प्रधानमन्त्री त आफूले बनाएका स्वास्थ्य मापदण्ड पालना गर्नुको सट्टा उल्टै उल्लंघन गरेर हिँड्छन् भने अरू उनका कार्यकर्ताको झुन्डलाई हामीले के विश्वास गर्ने’, नागरिक समाज कैलालीका अगुवा प्रमोद पाठक भन्छन्, ‘नेताहरूलाई के मतलब जनता मरुन् या बाचुन्, उनले तकुर्सी र सत्ताबाहेक केहीपनि सोचेका छैनन्।’

उनले थपे, ‘त्यसैले कुनै सरकारले जनताको भलो चाहनेवाला छैनन्, सकेसम्म बाचौँ नसके अक्सिजन नपाएर, एम्बुलेन्स नपाए, उपचार नपाएर जनताले अथवा गरिबले मर्नु त छँदै छ।’

सीमानाकाको व्यवस्थापनमा तीन तहकै सरकारबाट परिपक्व निर्णय भएर व्यवस्थापन गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ छ। सीमानाकाको व्यवस्थापन हुन नसक्दा फैलिएको महामारीमा अहिलेसम्म पनि उस्तै बेवास्ता छ। प्रदेशमा भारतबाट आउनेलाई होल्डिङ्ग सेन्टर र क्वारेन्टाइनमा नराखी सिधै समुदायमा जान दिने गरिएको छ। यस्तो अवस्थामा निषेधाज्ञाको कुनै अर्थ नहुने चिकित्सकहरूले बताएका छन्।

‘संक्रमितहरू भारतका जोखिमपूर्ण ठाउँबाट आएर सिधै समुदायमा गइरहेको छन् भने अहिलेको निषेधाज्ञाको कुनै अर्थ हुनेवाला छैन’, सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा नीराजनदत्त शर्मा भन्छन्, ‘सीमानाकामा अनिवार्य होल्डिङ्ग सेन्टर र गाउँगाउँमा व्यवस्थित क्वारेन्टाइन बनाउन सकेको खण्डमा अहिले प्रदेशका अस्पतालमा आउने संक्रमितको चाप ७० प्रतिशतभन्दा बढी मात्रामा घटेर जान्छ।’

तर, अहिले भइरहेको लापरबाहीले भने महामारी थेग्न नसकिने अवस्थामा पुग्ने तर्फ चिकित्सकहरूले चिन्ता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell