PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरगंजमा १२ घण्टामा ४ जना संक्रमितको मृत्यु, थप १९० जनामा संक्रमण



राधेश्याम पटेल

वीरगंजमा १२ घण्टामा ४ जना संक्रमितको मृत्यु, थप १९० जनामा संक्रमण
फाइल तस्विर

वीरगंज : वीरगंजमा पछिल्लो १२ घण्टामा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ। उपचारको क्रममा वीरगंजको विभिन्न अस्पतालको आइसोलेशन वार्डमा उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गएराति साढे ८ बजेदेखि बुधवार विहान साढे ८ बजेसम्म एक महिलासहित ४ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिएका छन्।

गएराति साढे ८ बजे वीरगंजको गण्डकस्थित नारायणी बयोधा अस्पतालमो वीरगंज १६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी वैशाख १० गते पीसीआर गराउँदा पोजेटिभ आएपछि सोही दिन नारायणी बयोधा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए।

त्यसपछि नारायणी अस्पतालमा गएराति साढे ९ बजे वीरगंज १० आदर्शनगरका ४० वर्षिय पुरुषको मृत्यु भयो। वैशाख १३ मा पीसीआर पोजेटिभ आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएका उनको पनि मृत्यु कडा निमोनियाको कारण भएको नारायणी अस्पतालको कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी दिए।

त्यसैगरी नारायणीमा बुधवार विहान ८ बजेर १० मिनेटमा वीरगंज २ की ६५ वर्षिया महिलाको पनि मृत्यु भएको छ। १६ गते अस्पताल भर्ना भएकी उनको १७ गते पीसीआर पोजेटिभ आएकोमा २२ गते आज विहान मृत्यु भएको हो।

त्यस्तै नेशनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा पनि वीरगंज १६ का ६३ वर्षिया पुरुषको गएराति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ।

वीरगंजमा हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ भने पर्साका मात्र २९ जना रहेका छन्।

१९० जना संक्रमित थपिए

यसैबिच, नारायणी अस्पतालमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट १९० जना नयाँ संक्रमित थपिएका छन्। कुल २८८ जनाको स्वाब र एन्टिजेन परीक्षणबाट १७५ जनाको पीसीआर र १५ जनाको एन्टिजेन पोजेटिभ गरी कुल १९० जना नयाँ संक्रमित थपिएका हुन्।

जसमा पर्साको १३३, बाराका ४१, सर्लाहीका ७, रौतहटका ५ र नेपालगंज, महोत्तरी, धनुषा र सप्तरीका १/१ जना रहेका छन्। ५ देखि ७० वर्ष उमेर समूहका नयाँ संक्रमितहरुको सिटी भ्यालु १६ देखि ३५ सम्म रहेको छ।

यससँगै पर्सामा १ हजार ७ सय ३५ कुल संक्रमित पुगेका छन् भने प्रदेश २ मा ३ हजार ६ सय ८५ कुल संक्रिय संक्रमित रहेका छन्। प्रदेश २ को कुल संक्रमितमध्ये आधा संक्रमित पर्सामा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell