काठमाडौं : हवाई मार्ग हुँदै छिमेकी राष्ट्र भारतबाट आउनेहरूले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।
क्वारेन्टाइनका लागि हाललाई सरकारले ८ वटा होटेल तोकेको छ। विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सिधै होटेलको क्वारेन्टाइनमा लगिने छ।
सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार क्वारेन्टाइनका लागि ८ वटा होटेलको नाम सार्वजनिक गरेको हो। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम, रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको हो। यी होटलमा १० देखि ९१ वटासम्म रुम रहेको छ।
होटेलले नै एयरपोर्टबाट यात्रुलाई लैजाने, खाने र बस्ने समेत व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ। एक यात्रुबाट प्रत्येक दिनको ३ हजारसम्म होटलले लिन पाउने छन्। उनीहरूले दश दिन अनिवार्य रुपमा होटेलको क्वारेन्टाइनमा बस्नुपर्ने छ।
कोरोना संक्रमण बढेपछि सरकारले आन्तरिक तथा बाह्य हवाई उडानमा रोक लगाएको छ। तर, छिमेकी राष्ट्रसँग भने हप्तामा दुई वटा फ्लाइट हुने छ।
