
पोखरा : गण्डकीका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने बताएकी छन्।
बुधबार प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै पौडेलले विधेयक, ऐनहरु प्रमाणीकरण गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाएकी हुन्। संसद बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने आफ्नो अर्को जिम्मा रहेको उनको भनाइ थियो।
पौडेलले प्रदेशसभामा अहिले देखिएको गतिरोधमा पनि आफूले समन्वय गरेर सबै दलहरुलाई मिलाएर लैजाने बताइन्। अवरुद्ध संसदलाई निकास दिन आफ्नो पहल रहने पौडेलको भनाइ छ।
प्रदेश प्रमुख पौडेलले प्रदेशसभा अवरुद्ध हुनुमा प्रतिपक्षी जिम्मेवार रहेको आरोप लगाइन्। ‘गण्डकी प्रदेशसभा अवरुद्ध गराउने काम त सत्तापक्षले गरेको होइन। यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै गर्यो,’ उनले भनिन्, ‘सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि।’
पौडेलले सभामुख नेत्रनाथ अधिकारीले नै प्रदेशसभा लथालिंग पारेको आरोप लगाइन्। ‘सरकारलाई थाहा नदिइकिन, कसैलाई थाहा नदिइ के त्यस्तो घडी पर्यो? सभामुखलाई?’ उनले प्रश्न गरिन्, ‘अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो।’
उनले प्रदेशसभा लथालिंग पारेपछि सभामुखको राजीनामा माग्ने घडीसमेत आइसकेको जिकिर गरिन्। सभामुखको समस्या फुकाउनेमा आफ्नो भूमिका रहने बताउँदै प्रमुख पौडेलले आफूले सभामुखलाई हटाउने आशय व्यक्त गरिन्। ‘सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ,’ उनले भनिन्।
उनले अविश्वास प्रस्ताव निष्क्रिय हुनसक्ने संकेत पनि दिइन्। कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्दा अब अविश्वास प्रस्ताव निष्क्रिय हुने उनको भनाइ छ।
‘छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त?’ पौडेलले प्रश्न गरिन्, ‘न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ। जिम्मेवारी सबै सभामुखले लिनुपर्छ। सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्यो।’