PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेती अस्पतालको दृश्य : बाहिर बेड लगाएर बिरामीको उपचार, भित्र शव व्यवस्थापनको सकस



एम बम

सेती अस्पतालको दृश्य : बाहिर बेड लगाएर बिरामीको उपचार, भित्र शव व्यवस्थापनको सकस

कैलाली : अक्सिजनको सहारामा मृत्युलाई जित्ने कोसिस गरिरहेका डोटीका एक बिरामी सेती प्रादेशिक अस्पतालको प्राङ्गणमा उपचाररत छन्। ४ दिनअघि डोटीबाट उपचारका लागि धनगढी ल्याइपुर्‍याइएका उनलाई ३ दिन धनगढीकै केजी अस्पतालमा उपचार गरियो।

त्यहाँ अक्सिजन सकिएपछि मंगलवार बेलुका उनका छोराले उनलाई सेती प्रादेशिक अस्पताल ल्याए। तर, बेड पाएनन्। उनलाई अक्सिजन नभई नहुने अवस्था देखेपछि चिकित्सकले अस्पतालको प्राङ्गणमै अक्सिजन जडान गरेर भर्ना गरे।

‘राति पानी परेपछि एक छिन भित्र गयौँ’, छोराले भने, ‘पानी थामिएपछि फेरी भित्र बस्ने उठ्ने ठाउँ नै नभएर बाहिर आयौँ।’

अहिले उनलाई चिकित्सकले अस्पतालअघि रुखको छहारीमा बेड र अक्सिजन जडान गरेर उपचार गरिरहेका छन्। श्वासप्रश्वासको समस्याबाट ग्रसित उनलाई कोरोना छ छैन भन्ने पुष्टि हुन भने अझै ९ घण्टा लाग्ने चिकित्सकले बताएको छोराले सुनाए।

अहिले बिरामीको चापले सेती प्रादेशिक अस्पताल भरिभराउ भएको छ। अस्पताल भित्रका वार्डहरूमा जाने बाटोमा समेत बिरामी भरिएपछि आउजाउ गर्ने ठाउँ पनि नभएको कुरुवाहरूको भनाइ छ। कैलालीको लम्किबाट आफ्ना ज्वाइँलाई अस्पताल ल्याएका अर्का एक जनाले पनि अस्पताल भित्र ठाउँ पाएका छैनन्।

‘अहिले बिरामीलाई अस्पतालमा बेड होइन ठाउँ समेत पाइएको छैन’, उनले भने, ‘ठाउँ पाए भुईँमै बस्न, पल्टिन त हुन्थ्यो। कस्तो देश हो हाम्रो अस्पतालमा उपचार पाउँला भनेर यहाँ आइयो। यहाँ उपचार नपाएर मरिने डर छ। ६ हजार थप भाडा तिरेर एम्बुलेन्समा अक्सिजन सिलिन्डर उतैबाट बोकेर उपचारका लागि यहाँ आयौँ। ठाउँ नपाएर सिँडीमुनि बसिरहेका छौँ।’

अस्पतालमै भेटिएका धनगढीका एक स्थानीयले भने, ‘यो बाहिर त बरु बिरामीले अक्सिजनको सहारामा भएपनि शान्तसँग श्वास फेर्न पाएका छन्। भित्र ईमर्जेन्सीमा मात्रै ३ जनाको मृत्यु भएको ५ घण्टा भइसक्दा पनि शव उठ्न सकेको छैन।’

उनले त्यसो भनेपछि अस्पतालको इमर्जेन्सीमा हेर्दा रोदनको कोलाहलमात्रै सुनियो। अस्पतालमा कोभिड परीक्षणका लागि स्वाब दिएर रिपोर्ट पर्खिरहेकाहरूको संख्या अधिक रहेकाले ईमर्जेन्सीमा बिरामीको चाप बढी छ।

‘ईमर्जेन्सीका शय्या भरिभराउ भएपछि आधा दर्जन बढी बिरामीलाई ग्यालरीमा पनि राखिएको छ’, अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘अहिले ग्यालरी पनि भरिभराउ भएपछि अस्पतालको प्राङ्गणमै राखेर उपचार गरिरहेका छौँ।’

मंगलवार रातिदेखि शंकास्पद बिरामीको संख्या बढेपछि अस्पतालको प्राङ्गणमै राखेर उपचार थालिएको उनले बताए।

‘ईमर्जेन्सी, अस्पतालको ग्यालरी र प्राङ्गणमा उपचार भइरहेका सबै बिरामीमा कोभिडको लक्षण छ’, सूचना अधिकारी श्रेष्ठले भने, ‘उनीहरूको स्वाब संकलन पनि भइसकेको छ। रिपोर्ट नआउँदासम्म त्यहीँ उपचार हुन्छ। संक्रमण पुष्टि भए कोभिड अस्पतालमा सार्छौँ। नभए त्यहीँ उपचार गर्छौँ।’

अस्पतालमा अक्सिजन अभावको सबैभन्दा बढी सकस छ।

‘अक्सिजन भए त बिरामीलाई जहाँ राखेर भएपनि उपचार गर्न सकिन्थ्यो’, अस्पतालका मेसु हेमराज पाण्डेय भन्छन्, ‘अब त त्यसको पनि चरम अभाव हुन थाल्यो। अहिले अस्पताल आउने भनेका सबैजसो अक्सिजनकै भरमा उपचार गर्नुपर्ने मात्रै छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell