PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जानकी मेडिकल कलेजले सञ्चालनमा ल्यायो २ सय शय्याको निःशुल्क कोभिड अस्पताल



पहिलोपोस्ट

जानकी मेडिकल कलेजले सञ्चालनमा ल्यायो २ सय शय्याको निःशुल्क कोभिड अस्पताल

जनकपुरधाम : बाक्लो बस्ती तथा बढी जनघनत्व रहेको प्रदेश २ मा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएरहेको छ। भेन्टिलेटर, आईसीयूलगायतका उपकरणको अभावमा सर्वसाधारणले उपचार पाउन सकेका छैनन्। उपचार नपाएर मंगलवार धनुषाका ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भयो।

यता, प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस् नीति ल्याएको देखिदैन। कोभिड-१९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमण नियन्त्रण तथा उपचारका लागि भेन्टिलेटर, अक्सिजन, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापन गर्नुको साटो प्रदेश २ सरकार संगीतका साधन बाँड्न व्यस्त छ। कोरोना संक्रमित भई उपचार अभावमा सर्वसाधारणले ज्यान गुमाइ रहेपनि उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले प्रदेश २ का आठै जिल्लामा ४० लाख रुपैयाँको हार्मोनियम, मादल, ढोलक, झ्याली बाँड्न ७ दिने सूचना जारी गरेको छ।

प्रदेश २ मा कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा प्रदेश सरकार उदासिन देखिए पनि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजले त्यस्ता बिरामीहरुको उपचार गर्न अघि सकेको छ। मेडिकल कलेजले दुई सय शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। प्रदेश र स्थानीय सरकारले भने अनुसारको न्यूनतम सहयोग समेत उपलब्ध गराउन नसकेपछि मेडिकल कलेजले सर्वसाधारणको स्वास्थ्यहितलाई ख्यालगर्दै आफ्नै लगानीमा निःशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको कलेजका  प्रबन्ध निर्देशक  श्रीप्रसस्ट पाण्डेले जानकारी दिए।

पाण्डेले भने, ‘हामीसँग दुई सय शय्याको अस्पताल तयारी अवस्थामा छ। बुधवारबाट २० शय्याको अक्सिजनसहितको र ६ शय्याको भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ। तत्काल अक्सिजन अभाव रहेको र आफूहरुसँग आइतवारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न रुपले कोभिड अस्पताल सञ्चालनमा ल्याउने छौँ।’

उनले हाल आफूहरुलाई प्रदेश र स्थानीय सरकारबाट केही सहयोग नभएको समेत बताए। यद्यपि प्रदेश सरकारले आफूलाइ पीपीई लगायतका उपकरणहरु सहयोग गर्ने आश्वासन दिएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell