काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवारदेखि लागू हुने गरी मंगलवार निषेधाज्ञा थप गरेको घोषणा गर्यो। जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले प्रष्ट पारेको छ।
प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत गर्न पाउने बताएको छ। त्यस्तै, विवाह व्रतवन्धजस्ता संस्कारमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रशासनले मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेश गर्न भनेको छ।
यस्तै, काठमाडौंभित्रका बिरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवात जावत गर्न पाउने छन्। परिवारका सदस्य वा आफन्त बिरामी भई काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेश गर्न भनिएको छ।