PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जहाँ चर्को निषेधाज्ञाकै बिचमा पनि ५ सय कामदार खटिरहेका छन्, तीन सिफ्टमा चलिरहेछ काम



दिनेश खड्का

जहाँ चर्को निषेधाज्ञाकै बिचमा पनि ५ सय कामदार खटिरहेका छन्, तीन सिफ्टमा चलिरहेछ काम

काठमाडौं : देशव्यापी निषेधाज्ञाका कारण जनजीवन ठप्प छ। यस्तोमा अति आवश्यकबाहेकका क्षेत्रमा मानिसहरुलाई निषेध गरिएको छ। त्यसैले सबैतिर ठप्प नै छ। यही ठप्पबिच एउटा महत्वपूर्ण आयोजना भने चौबिसै घन्टा जारी छ। र, यो आयोजनामा तीन सिफ्टमा ५ सय कामदार भिडिरहेका छन्।

अधिकांश विकासे आयोजनाहरु बन्द हुन थाले पनि नागढुंगा-नौविसे सुरुङमार्ग आयोजनाको काम भने निरन्तर भइरहेको छ।

आयोजनासँग १५ दिनलाई पुग्ने निर्माण सामाग्री रहेको र स्थानीय प्रशासनले समेत सहजीकरण गरेकोले निर्माणको काम निरन्तर अघि बढेको हो। सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्य सुरुङमार्गको दुवैतर्फको प्रवेशद्वारमा काम भइरहेको बताउँदै पाँच सय कामदारले २४ सै घण्टा काम गरिरहेको जानकारी दिए।

‘निर्माण सामाग्री १५ दिनलाई पुग्ने भएकाले निषेधाज्ञाले खासै समस्या हुँदैन। अहिले तीन सिफ्टमा २४सै घण्टा काम भइरहेको छ,’ उनले भने, ‘जापानी प्रतिनिधिसँग कुरा गर्दा पनि कुनै समस्या नरहेको जानकारी पाएका छौं।’ शाक्यका अनुसार स्थानीय प्रशासनले आयोजनाका अधिकारी, परामर्शदातालाई आवातजावत गर्न पासको व्यवस्था गरिदिएका छन्।

शाक्यले पूर्व र पश्चिम दुवै पोर्टल दुवैतिर सुरुङको काम भइरहेको बताउँदै भने- ‘पूर्वतर्फ ओभररपासको डेक ढलानको तयारी, ब्रिजको ढलान, दुइवटा कल्भर्ट निर्माण, एप्रोच रोडको कटिङ, फिलिङ लगायतको काम भइरहेको छ।‘ उनले पश्चिमतर्फ अण्डरपासको काम भइरहेको बताउँदै एक महिना अण्डरपास ढलान सक्ने लक्ष्य रहेको जानकारी दिए।

आयोजनाले अप्रिलसम्म वर्किड अडिट ११९ मिटरको काम सकेको छ। मुख्य सुरुङमार्ग खन्नका वर्किङ अडिट प्रयोग हुन्छ। पश्चिम पोर्टल (धादिङतर्फ) मुख्य टनेल ५५ मिटर पूरा भएको भएको छ। इभ्याकुएसन टनेल ६८ मिटर पूरा भएको छ। पूर्वी पोर्टल (काठमाडौतिर) मुख्य टनेल ४५ मिटर र इभ्याकुएसन २३६ मिटर खन्ने काम सकिएको छ।

दैनिक रुपमा इभ्याकुएसन टनेल ६ मिटर र मुख्य टनेलको काम २ मिटर खन्ने काम भइरहेको शाक्यले बताए। मुख्य टनेल दैनिक चार मिटर खन्ने गरिए पनि धादिङतिर पालैपालो खन्नुपर्ने अवस्था आएको उनले बताए।

‘धादिङतर्फ मुख्य टनेल र इभाकुएसन टनेल पालैपालो खन्नुपर्ने अवस्था आएको छ। ठूला मेसिन प्रयोग गर्नु परेका कारण पालैपालो खन्नु परेको हो,’ शाक्यले भने, ‘अब एक महिना जतिमा अण्डरपासको काम सकिन्छ। त्यसपछि दुवैको काम एक साथ गर्न सकिन्छ।‘

इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरि निर्माण गरिने सुरुङ हो। मुख्य सुरुङबाट ३० मिटरको दुरी (चौडाई) मा हुनेगरी इभाकुएसन टनेल खनिन्छ। यसरी समानान्तर हुनेगरी खनिने इभाकुएसन टनेललाई प्रत्येक ३ सय ७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ। कुनै दुर्घटना वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउँजाउँका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ।

१० महिनामा सुरुङ छेडिने
सुरुङमार्ग आगामी १० महिनाभित्र सक्ने लक्ष्य छ। सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिका अनुसार १४ महिना सुरुङ छेड्ने लक्ष्य छ।

सुरुङको काम थालेको चार महिना बितिसकेको छ। पुस ७ गते पश्चिम पोर्टलबाट इभ्याकुएसन टनेल खनेर काम सुरु गरिएको थियो। त्यसपछि फिनिसिङका कामहरु हुनेछन्। आयोजनाका अनुसार सुरुङ छेड्नभन्दा फिनिसिङका लागि समय लाग्छ।

सुरुङमार्गमा लाइटिङ, अक्सिजन, पानी, फायर हाइड्रेन्टदेखि अन्य विभिन्न कामका लागि धेरै समय लाग्छ। ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ यसको। लकडाउन र निषेधाज्ञाका कारण काम प्रभावित भएकाले आयोजना पूरा हुन निर्धारित मितिभन्दा केही पछाडि धकेलिने देखिएको छ।

सुरुङमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो। २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सुरुङमार्गमा जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट व्योहोरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell