PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रशंसनीय काम : मेयर र उप प्रमुख चढ्ने गाडी अब कोभिड १९ संक्रमितका लागि एम्बुलेन्स



पूजा पन्थी

प्रशंसनीय काम : मेयर र उप प्रमुख चढ्ने गाडी अब कोभिड १९ संक्रमितका लागि एम्बुलेन्स

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउने भएका छन्। 

संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्रा पर्याप्त नभएपछि नगर प्रमुख र उपप्रमुखले चढ्दै आएका दुई वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाएका हुन्।

तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुईवटा एम्बुलेन्स सञ्चालनमा छ। नगर प्रमुख र उपप्रमुख चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन्। छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए। आज नगर प्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीको विकराल रुप नहट्दासम्म वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन्। संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकोले यस्तो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ। नगर प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३६० र उपप्रमुखले प्रयोग गर्ने लु. १ झ. ३२६ नंबरको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन्। यस्तै, नगर प्रहरीले प्रयोग गर्ने लु. १ झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ। यी सवारीसाधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाह गर्नेगरी स्टाण्डवाई अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ।

तिलोत्तमा नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारीसाधन स्वास्थ्य शाखामार्फत् परिचालित हुनेछ। 
‘हामीले जनताकैं काम गर्न जनताकैं करले किनेका गाडी चढेका हौं। अहिले परिस्थिति असामान्य छ। कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन्। यसैले जनताकैं सम्पत्ति जनताकैं सेवामा लगाउने निष्कर्षमा पुगेका हौं,’ नगर प्रमुख घिमिरेले भने, ‘केही दिन हामी साइकल चढेर हिँडे पनि फरक पर्दैन। सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेशनमा पुर्‍याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो।’

यी सवारीसाधनले मूलतः नगरपालिकाभित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्‍यानेछ। नगर प्रमुख र उपप्रमुखका सवारीसाधन चलाउने चालक स्थानीय सडक सञ्जालसँग परिचित रहेकाले सेवा प्रवाह थप छिटो हुने जनाइएको छ।

तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिनेगरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। यस्तै वडा नं. ९ मा रहेको सभा हलमा थप ६० बेडको आइसोलेशन गराउने गरी काम अघि बढाएको छ। यस्तै, नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ। आइसोलेशनमा एक जना चिकित्सक सहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन्।

तिलोत्तमा नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ। तिलोत्तमा नगरपालिकामा वैशाख १५ यता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell