PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेताको घरदैलोदेखि राष्ट्रपतिसँग लगातार संवादमा ओली, के कुनै अर्को 'महाकदम' को तयारी हुँदैछ?



प्रकाश भण्डारी

नेताको घरदैलोदेखि राष्ट्रपतिसँग लगातार संवादमा ओली, के कुनै अर्को 'महाकदम' को तयारी हुँदैछ?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि आफ्नो राजनीतिक सक्रियता बढाएका छन्।

विश्वासको मत लिने तयारी गरेका ओलीले एमालेका सांसदहरुलाई बालुवाटारमै बोलाएर फकाउनेदेखि प्रतिपक्षी दलको नेताको घरमै पुगेर आफ्नो पक्षमा उभिन आग्रह गरिरहेका छन्। वैशाख २७ गते प्रतिनिधिसभामा लिन लागेको विश्वासको मत अघि ओली नेताको घरदैलोमा लागेका हुन्। पुस ५ गते प्रतिनिधि सभा विघटन अघि पनि प्रधानमन्त्री ओलीले नेताहरुको घरदैलो पुगेको थिए। 

लगातार राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउनु अघि पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग लगातार छलफल गरेका थिए। बालुवाटारमा चल्दै गरेको स्थायी कमिटीको बैठकलाई रोकेर ओली वैशाख १९ गते शीतल निवास पुगेका थिए। राष्ट्रपति निवासबाट फर्केलगत्तै बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर ओलीले संसदको विशेष अधिवेशन बोलाएका थिए।

ओलीले कुनै महत्वपूर्ण लिनुअघि भण्डारीसँग रणनीतिक छलफल गर्ने गरेका छन्। तर, ओली निकट नेताहरुले भने प्रधानमन्त्री र राष्ट्रपतिको भेट हुनु सामान्य मात्रै भएको भन्दै बचाउ गर्दै आएका छन्। ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ प्रधानमन्त्री र राष्ट्रपतिको भेट कुनै चर्चाको विषय नै नभएको बताउँछन्।

'प्रधानन्त्री र राष्ट्रपतिको भेटलाई त सामान्य मानिन्छन् नि। यो कुनै चर्चा गर्न लायकको विषय नै होइन,' उनले भने।

ओलीले कुनै निर्णय गर्नुअघि मन्त्रिहरुलाई भन्दा आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर गोप्य छलफल गर्ने गरेका छन् भने उक्त छलफलको निष्कर्ष सुनाउन उनी राष्ट्रपति निवास जाने गरेका छन्।

अप्ठेरोमा नेताकै घर

ओलीले आफू अप्ठेरोमा पर्नासाथ रणनीतिक रुपमा नेतालाई भेटने गरेका छन्। कहिले एक्लै त कहिले आफ्नो विश्वासपात्र सहित उनी विपक्षी नेताहरुको घरदैलो गर्ने गर्छन्। ओलीले नेताहरुलाई फकाउन विभिन्न उपाय लगाउने गरेको ओलीसँग संवाद गरेका नेताहरु बताउँछन्। उनले पदको लोभ देखाउनेदेखि राजनीतिक भविष्यको बारेमा समेत चर्चा गर्ने गरेका छन्।

ओलीलाई बालुवाटारमै भेटेका एमालेको माधव नेपाल समूहका एक सांसद ओलीले पदको लोभ देखाएर आफूतिर तान्न खोजेको दाबी गर्छन्।

'उहाँले राजनीतिक भविष्य बन्छ मेरोतिर लाग्दा भन्नुहुन्छ। एमाले एकताको भन्दा अलग पार्टीकै कुराकानी हुन्छ,' माधव निकट ती नेताले भने।

यसअघि पुस ४ गते ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटार पुग्दा पनि पदको लोभ देखाएका थिए। त्यसको भोलिपल्ट हो उनले प्रतिनिधिसभा विघटन गरेको। नेकपा एमालेमा हाल असन्तुष्ट रहेका र छुट्टै समूह बनाइरहेका वामदेव गौतमलाई समेत ओलीले बालुवाटारमै बोलाएर 'डिनर मिटिङ' गरेका थिए। वैशाख ९ गते गौतमलाई बालुवाटारमै बोलाएर डिनर खुवाएका ओलीको रणनीति सफल भए हुन सकेन। गौतम र ओली बिच कुरा नमिलेपछि गौतम छलफललाई बिचमै छोडेर अब नआउने भन्दै बालुवाटारबाट बाहिरिएको गौतम निकट स्रोतको दाबी छ।

नेकपा एमाले राजनीतिक रुपमा विभाजित अवस्थामा रहँदा वरिष्ठ नेता माधव नेपालसँग ओलीले काठमाडौंको मेरियट होटलमा वार्ता गरेका थिए। उक्त वार्ता मेरियटको होटलबाट धरहरा हेर्नुमै सीमित रहेको एक नेताले बताए। वार्तापछि ओलीसँगको दुरी झन् बढेको नेपालले सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएका थिए। 

ओलीले आफ्नो पुरानै रणनीति अनुसार बुधवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई उनकै निवासमा भेटेका थिए। बुढानीलकण्ठ जानुअघि बालुवाटारमा आफू निकट नेताहरुसँग गरेको संवादमा ओलीले आफू अप्ठेरोमा परेको र अन्तिम कसरत स्वरुप नेताहरुको घर जान लागेको बताएका थिए।

दलबलसहित बुढानीलकण्ठ पुगेका ओलीले देउवालाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। देउवाले भने विश्वासको मत दिन अस्वीकार गरेको भेटमा सहभागी नेताहरुले बताएका छन्।

बिहीवार पनि ओलीको सक्रियता बढेको छ। उनले बिहानै बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बेठक बोलाएका थिए। साँझ मन्त्रिपरिषदको बैठक बोलाएक छन्। यस बिचको खाली समयमा भने ओलीले राष्ट्रपति भण्डारीसँगको संवादलाई अघि बढाएका छन्।

किन बढ्यो सक्रियता?

फागुन २३ मा माओवादी र एमाले अलग भएपछि ओलीका लागि चैत २३ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। तर, उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको भन्दै विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका थिए। तर, ओलीको रणनीति वैशाख १९ भने 'यू टर्न' भएको छ।

ओलीले आफैले विश्वासको मत लिने भन्दै संसदको विशेष अधिवेशनको आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। जसबाट माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको उपेन्द्र यादव समूह झस्कियो।

लामो समयसम्म ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको ओली इतर गठबन्धनले फेरि पनि अविश्वासकै प्रस्ताव ल्याउन छलफल चलाइरहेको छ। एमालेकै माधव नेपाल समूहले हाल अप्ठेरोमा पारेपछि ओली फेरी राजनीतिक रुपमा अर्को निर्णयको तयारीमा लागेको ओली निकटस्थहरुले बताउन थालेका छन्।

नेपाल समूहले एमालेमा देखिएको विवाद नमिलाएरै संसदमा विश्वासको मत लिए मत नदिने बरु सामूहिक राजीनामा या फ्लोर क्रस गर्ने चेतावनी दिइरहेको छ। नेपाल समूहका ३० जना सांसदलाई कारवाहीको तयारी गरे पनि ओलीले त्यसलाई कार्यान्वयन भने गरेका छैनन्। नेपाल समूहप्रति हाल उनले कुनै कडा अभिव्यक्ति पनि दिएका छैनन्। विश्वासको मतमा नेपाल समूहले असहयोग गरेमा पनि आफ्नो राजनीतिक कमहरु झन कडा रुपमा चाल्ने बताउँदै आएका छन् ओलीले।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद उत्कर्षमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विरुद्ध कुनै कदम चाले आफूले पनि 'महाकदम' चाल्ने ओलीले चेतावनी दिएका थिए। जस अनुसार उनले प्रतिनिधसभा विघटनसम्म गरे। 

ओलीले फेरि महाकदम चाल्न लागेका हुन् या राजनीतिबाट सेफ ल्याण्डिङ गर्दै छन् त्यो भने केही दिनमा थाहा हुने ओली निकट नेता बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell