PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रक्सौलबाट भित्रिनेमध्ये १० प्रतिशतमा संक्रमण पुष्टि, जन्तीको गाडी परीक्षणपछि मात्र प्रवेश, पोजेटिभ देखिए दुलाहा पनि फिर्ता

रक्सौलबाट भित्रिनेमध्ये १० प्रतिशतमा संक्रमण पुष्टि, जन्तीको गाडी परीक्षणपछि मात्र प्रवेश, पोजेटिभ देखिए दुलाहा पनि फिर्ता

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा वीरगंज हटस्पट बनेको छ। उच्च गतिले संक्रमण फैलिएको भारतबाट छिर्ने नेपालको मुख्य प्रवेशद्वार वीरगंजमा दैनिक ७ सय गाडी भारतबाट प्रवेश गर्छन्।

नेपाल–भारत आवागमनको दृष्टिकोणले पनि वीरगंज–रक्सौल नाका हालसम्म खुल्ला नै राखिएको छ। गत चैत २३ देखि वैशाख २२ गते साँझ ४ बजे सम्मको तथ्यांक हेर्दा १४ सय ५७ जना यो नाकाबाट वीरगंज प्रवेश गर्न खोजेका छन्।

जस मध्ये ९ दशमलव ९५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। सशस्त्र प्रहरी बल भन्सार गुल्मका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्णबहादुर बमका अनुसार वीरगंज प्रवेश गर्ने १४ सय ५७ जनामध्ये १४९ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ नतिजा आएको बताए। जसमध्ये ७७ जना नेपाली नागरिक र ७२ जना भारतीय नागरिक रहेका छन्। भारतीयहरुमा पोजेटिभ देखिएपछि भारत फर्काउने गरिएको छ।

गत वैशाख १६ गतेदेखि वीरगंजमा निषेधाज्ञा लागेपछि भारतीय नागरिकलाई प्रवेशमा पूर्ण रुपमा निषेध गरिएको छ। तर पनि विवाह र जन्तीमा केही व्यक्ति फाट्टफुट्ट आइरहेका छन्। जन्तीको एउटा गाडी आर्थात बढीमा १५ जनासम्म नेपाल प्रवेश गर्न अनुमति छ। वीरगंज नाका भएर विशेषगरी पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका बासिन्दा भारतबाट फर्किरहेका छन्।

नेपालीको हकमा पोजेटिभ नतिजा आएपछि एम्बुलेन्समा राखेर सम्बन्धित जिल्लाको पालिका र परिवारजनले भाडा तिेर्नेगरी पठाउने गरिएको छ। साथै, पालिकाको स्वास्थ्य मापदण्डको अधारमा होम आइसोलेसनमा बस्न अपिल गरिन्छ।

यदि नेगेटिभ आएको खण्डमा अनुमति प्राप्त ३५ वटा म्याजिक र बसबाट पनि पर्सालगायत बाहिरी जिल्लाका बासिन्दालाई प्रहरीले चढाएर पठाइदिने गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

‘पोहोर जस्तो यसपालि बाहिरी जिल्लाका बासिन्दालाई वीरगंजमा होल्ड गरेर दालभात खुवाएर राखिएको छैन,’ उनले भने, ‘नेपाल प्रवेश गर्न खोज्ने नेपाली दाजुभाईलाई सहज रुपमा घरसम्म पुर्‍याउने अभियान चलाएका छौं।’ वीरगंजमा बसाएर दालभात खुवाउनु परेको छैन। उनले भारतीय गाडीको हकमा बेहुलालाई एन्टिजेन पोजेटिभ आएको खण्डमा पनि फिर्ता पठाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell