PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क



पहिलोपोस्ट

देवदहमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन, पीसीआर परीक्षण निशुल्क

बुटवल : रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो।

त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आईसीयू सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको देवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताए।

१२ वैशाखसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदहमा सक्रिय संक्रमित बढ्दै गएकाले संक्रमणलाई थप फैलिन नदिन जारी निषेधाज्ञा कडाइसाथ पालना गर्नसमेत नगरबासीलाई उनको आग्रह छ।

जटिल समस्या देखापरेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरणका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगरप्रमुख खत्रीले बताए।

‘देशभर स्वास्थ्य पूर्वाधार अभावको स्थिति छ। सीमित स्रोत–साधन र जनशक्तिका बाबजुद नगरबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका प्रतिबद्ध छ’, खत्रीले भने।

नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरूको स्वाब समेत त्यहीँबाट लिने र परीक्षणलाई समेत निःशुल्क गरिएको उनले जानकारी दिए। सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न उनले नगरबासीलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell