PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खरिपाटी तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन विद्युत प्राधिकरणको प्रस्ताव, अक्सिजन उत्पादन गर्ने उद्योगमा बिजुली नजाने



पहिलोपोस्ट

खरिपाटी तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन विद्युत प्राधिकरणको प्रस्ताव, अक्सिजन उत्पादन गर्ने उद्योगमा बिजुली नजाने

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको परिपाटीस्थित तालिम केन्द्रलाई आइसोलेसन केन्द्र बनाउन प्रस्ताव गरेको छ। देशभर संक्रमितको सङ्ख्या थपिदैं गएपछि आइसोलेसन वार्डको अभाव हुन नदिन तालिम केन्द्रलाई वार्ड बनाउन प्रस्ताव गरिएको हो।

सरकारले गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको वुहानबाट ल्याएका नेपाली विद्यार्थीहरूलाई प्राधिकरणको परिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म राखेको थियो। क्वारेन्टाइनमा वुहानबाट ल्याइएका १७५ नेपालीलाई १८ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर फर्किएका थिए। त्यसपछि पनि विदेशबाट आएका नेपालीहरूलाई त्यहाँको क्वारेन्टाइनमा राखिएको थियो।

तालिम केन्द्रको पूर्वाधार आवश्यक परेको वेला प्रयोग गर्न सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए। प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो।

‘तालिम केन्द्र परिसरभित्रका भवनहरूमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरू राख्न सकिन्छ ,गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, निर्देशक शाक्यले भने।

तालिम केन्द्रमा रहेको भवन नम्बर १ मा २६ कोठा छन्। त्यहाँ २४ वटा बेड राख्न सकिन्छ। भवन नम्बर २ मा २६ कोठा छन्,त्यहाँ ७८ वटा बेड राख्न सकिन्छ  स्टाफ क्वाटर भवनमा ११ कोठा छन्। त्यहाँ २८ वटा बेड राख्न सकिन्छ। यसै गरी, क्वाटर भवनका ३ कोठामा ३ वटा बेड राख्न सकिने निर्देशक शाक्यले जानकारी दिए।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ। कार्यकारी निर्देशक शाक्यले बिजुली गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरूलाई खबर गरिएको बताए।

‘विद्युत् वितरण केन्द्रहरूलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौँ, केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगहरूलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन्', शाक्यले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell