PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोंगबु बसपार्क र कलंकीमा बढी भाडा असुल्ने ५ जना पक्राउ, सादा पोशाकमा आफै यात्रु बनेर ट्राफिकको निगरानी



पहिलोपोस्ट

गोंगबु बसपार्क र कलंकीमा बढी भाडा असुल्ने ५ जना पक्राउ, सादा पोशाकमा आफै यात्रु बनेर ट्राफिकको निगरानी

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ५ जनालाई गोंगबु बसपार्क र कलंकीबाट नियन्त्रणमा लिएको छ। गोंगबुबाट ३ जना र कलंकीबाट २ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

बसपार्कमा ५ सय प्रतिशत बढी भाडा

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई बिहीवार बसपार्कबाट नियन्त्रणमा लिएको हो।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढि भाडा लिएको कसुरमा तिनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए। उनका अनुसार पोखरा जाने यात्रुसँग ३ हजार ५ सय र बुटवल जाने यात्रुबाट जनही ६ हजारका दरले भाडा लिन क्रममा पक्राउ गरिएको हो।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरुबाट बढि भाडा असुलेको हो।

पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ। पक्राउ परेका तिनै जनालाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।

कलंकीमा दुई जना पक्राउ

त्यसैगरी कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। काठमाडौंदेखि झापा मोरङ्गको नियमित भाडा एक हजार देखि बाह्रसयसम्म भएपनि यात्रुसँग दुई गुणा बढि जनही २५ सयका दरले भाडा उठाउने खोटाङ्ग गरभइ कलंकी बस्ने बर्ष ३५ को भीम बा. खड्का र रौतहट घर भई खसीबजार बस्ने बर्ष ५० को बैजनाथ चौधरीलाई आज महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो।

उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ। यात्रुसँग बढी भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई महाशाखाले बुधवार पक्राउ गरेको थियो।

ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञामा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धी समस्या अनुगमनको लागी सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ। टोलीले आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखेर नियन्त्रण गर्ने गरेको छ।

बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell