PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा सरकारी अस्पतालमा देखियो बेड र कर्मचारी अभाव



रिना थापा

कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा सरकारी अस्पतालमा देखियो बेड र कर्मचारी अभाव

पोखरा : पछिल्लो समय पोखरामा कोरोना संक्रमणको दर ह्वातै बढेको छ। दैनिक १ सय ५० बढीको संख्यामा संक्रमित बढिरहेका छन्। बिहीवार मात्र कास्कीमा २ सय २१ सहित प्रदेशमा ४ सय ३३ संक्रमित थपिए।

संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालमा बेड अभावको समस्या देखिएको छ। हप्ता १० दिन अघिसम्म खाली रहेको अस्पतालका बेड अहिले भरिसकेको छ। प्रदेश सरकारको मातहातमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा त्यहीँ समस्या देखिएको छ। अस्पतालको बेड क्षमता जम्मा ५० छ तर अहिले ५५ जना कोरोनाका बिरामीको उपचार गरिँदै छ।

सरुवा रोग अस्पतालका निर्देशक डा विनोद गौचनले बिरामीको चाप बढेसँगै काम गर्न असहज भएको सुनाए।

‘बिरामी आइरहनुभएको छ जनशक्ति छैन, बेहाल भएको छ’, उनले भने, ‘जनशक्ति अभावले बिरामी उपचारबाट वञ्चित नहोउन् भनेर लिइरहेका छौँ।’

अस्पतालमा कर्मचारी अभावले बिरामी उपचारमा खटिँदा सकस भएको डा गौचनले बताए। भने, ‘जनशक्ति कम हुँदा पनि काम गरिरहेको अवस्था छ, यो अवस्था कल्पना बाहिर थियो।’

सरुवा रोग अस्पतालमा स्थापना हुँदा १५ जना बिरामी हेरचाह गर्नेगरी दरबन्दी खोलिएको थियो। हाल उक्त दरबन्दीमा भर्ना भएका कर्मचारीले नै ५५ जना कोरोना संक्रमित बिरामीको हेरचाह गरिरहेका छन्। गौचनका अनुसार तत्कालका लागि २० जना डाक्टर आवश्यक परेको खण्डमा १० जना र ३५ जना नर्सको स्थानमा जम्मा ६ जना नर्स राखिएको छ।

हाल अस्पतालको प्रयोगशालामा ३ जना, फार्मेसीमा ३, एक्सरेमा २ र अहेबमा १ जना कर्मचारी छन्। तर, गौचनका अनुसार अस्पतालको प्रयोगशालामा ८ जना, फार्मेसी, एक्सरे र अहेबमा ४/४ जना आवश्यक पर्छ। अस्पतालमा कर्मचारी अभावको गुनासो सामाजिक विकास मन्त्रालयलाई सुनाएपछि केही सकारात्मक प्रतिक्रिया आएको गौचन बताउँछन्।

सामाजिक विकास मन्त्रालयले पनि अस्पतालको समस्या सुनेर कर्मचारी भर्नामा आफूहरु तयारी थालेको जानकारी दिएको छ।

यता पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पनि बेड भरिसकेको छ। दैनिक आउने संक्रमितको संख्या बढ्दो छ। देशमा कोरोना महामारीको पहिलो लहर चलिरहँदा क्षेत्रिय अस्पताललाई सरकारले कोरोना डेडिकेटेड अस्पताल तोकेको थियो। केही महिना उता कोरोना महामारी केही हदसम्म हट्दा अस्पतालले आइसोलेसन बेड समेत हटायो। तर, पछिल्लो केही समय यता महामारी बढेपछि अस्पतालले पुनः आइसोलेसन निर्माण गरिरहेको छ। अस्पतालमा ५० बेड क्षमता छ।

अस्पतालमा आइसोलेसन सञ्चालन आएको ६ दिन नपुग्दै बेड भरिभराउ छ। केहीदिन यता बिरामीको चाप बढेको आइसोलेसनमा खटिएका डा शरद बरालले जानकारी दिए।

‘पोखरा क्षेत्र आसपास, तनहुँ, स्याङ्जा, पर्वतबाट बिरामी आइरहनुभएको छ’, उनले भने, ‘आज ६ जना, हिजो ४, अस्ति ७ गर्दै निको पनि हुनुभएको छ त्यसैले केही रुपमा बेड म्यानेज गर्न सहज भएको छ।’

उनका अनुसार अहिलेका अधिकांश बिरामीमा गम्भिर लक्षण देखिएको छ। पहिलो लहरको महामारी समेत खटिएका बराल अहिलेका बिरामी अक्सिजनकै सहायतामा बस्नुपरेको बताउँछन्।

‘पहिलेको संक्रमितले यति विधि अक्सिजन लगाउनुपर्ने अवस्था थिएन’, उनले भने, ‘अक्सिजन बिना पनि बस्न सक्ने स्थिति थियो तर अहिले यहाँ बसेको हरेक बिरामी अक्सिजनको सहायतामा बस्नपर्छ।’

अझैपनि कोरोनालाई खेलाँची गरे यसले भयावह रुप लिने उनको चेतावनी छ। यही हिसाबमा संक्रमितको दर बढ्दै अक्सिजन आपूर्तिमा समस्या देखिने उनले बताए।

अहिले अस्पतालमा ४० वर्षमूनिका उमेर समूह बढी देखिन्छन्। अस्पतालले अहिलेसम्म अक्सिजन आपूर्तिमा समस्या नभएको जनाएको छ। तर, अभावको स्थिति नआउलान् भन्न नसकिने उपचारमा खटिएका डाक्टर बताउँछन्। पश्चिमाञ्चल अस्पतालमा अहिले कोरोना संक्रमित बिरामीको लागि दैनिक ६० देखि ७० वटा र सरुवा अस्पतालमा ४० वटा ठूलो सिलिन्डर खपत भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell