PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काठमाडौं भर्सेस विराटनगरको खेलमा गोलको वर्षा, एनएसएलमा पहिलो ह्याट्रिक



पहिलोपोस्ट

काठमाडौं भर्सेस विराटनगरको खेलमा गोलको वर्षा, एनएसएलमा पहिलो ह्याट्रिक

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटीमाथि रोमाञ्चक जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै विराटनगरमाथि ५-४ गोलअन्तरले जित निकालेको हो।

रोमाञ्चक खेलमा काठमाडौंका मेस्सोउके ओलोमोउले ह्याट्रिक पूरा गरे। जारी प्रतियोगितामा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।

विराटनगरले खेलको ५ औं मिनेटमै एडिलेजा सोमिडेको गोलमा अग्रता बनाएको थिए। त्यस्तै, ३३ औं मिनेटमा विराटनगरका पेड्रो माञ्जीले गोल थप्दा काठमाडौं दुई गोलले पछि परेको थियो। तर, त्यसको दुई मिनेट नबित्दै काठमाडौंका ओलोमोउले गोल फर्काए। त्यसको अर्को मिनेटमै उनले नै दोस्रो गोल थप्दै खेल बराबरीमा ल्याए। त्यस्तै, ४१ औं मिनेटमा काठमाडौंका स्टेफेन बिनोङले गोल फर्काउँदा पहिलो हाफमा काठमाडौं ३-२ ले अगाडि रह्यो।

दोस्रो हाफमा ओलोमोउले नै फेरि अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे। उता विराटनगरका लागि ७८ औं मिनेटमा कप्तान रञ्जित धिमालले गोल फर्काउँदै आफ्नो टिमलाई खेलमा फर्काउन चाहे। तर, काठमाडौंका छिरिङ गुरुङले ८२ औं मिनेटमा गोल फर्काउँदा विराटनगर फेरि दवाबमा आएको थियो।

यद्यपि खेलको अतिरिक्त समयमा विराटनगरका पेड्रो माञ्जीले गोल थपे। तर, खेलमा फर्कन त्यो पर्याप्त हुन सकेन। र, काठमाडौंले ५-४ को गोलअन्तरले जित निकाल्दै १० अंक जोडेर शीर्ष दुईमा उक्लियो। साथै प्लेअफका लागि क्वालिफाइडसमेत भयो।

खेलबारे प्रतिकृया दिँदै काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले एनएसएलमा अहिलेसम्मकै कठिन खेल रहेको प्रतिकृया दिए।

‘पोजेटिभ भाइब्स आएको छ। दुई गोलले पछि पर्दा नि राम्रो पुनरागमन गर्न सकियो,’ पोस्टम्याच प्रेजेन्टेसनमा उनले भने, ‘गोल किपरको रुपमा आजको खेल सबैभन्दा कठिन लाग्यो। जति पनि विचको गेममा खेल बिग्रिएको थियो। अर्को खेलमा सबैसँग खेलेका छौं। अब चितवनसँगको खेलका मिस्टेकहरुलाई एनालाइज गरेर जानेछौं।’

आजै सम्पन्न पहिलो खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell