काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा बिहीवारको दोस्रो खेल महत्वपूर्ण रह्यो। महत्वपूर्ण यस अर्थमा कि यस खेलमा विजयी हुने टिम एकातर्फ शीर्षस्थानको होडमा कायम हुने थियो र अर्कोतर्फ प्लेअफका लागि क्वालिफायर्स। प्रतिस्पर्धामा थिए शीर्ष तीनभित्र रहेका काठमाडौं रेजर्स र विराटनगर सिटी।
बिहीवारको उक्त भिडन्त एनएसएलकै हेर्नलायक खेल बन्यो। सुरुमै दुई गोलले पछि परेको काठमाडौंको पुनरागमन, मेसोओउके ओलोमोउको प्रतियोगिताकै पहिलो ह्याट्रिक, बिराटनगरको अन्तिम मिनेटसम्मको संघर्ष र विशेष गरी खेलको अट्याकिङले पनि यो खेललाई फरक स्तरमा देखाएको भन्न सकिन्छ।
खेलको रोमाञ्चकता एकतर्फ छँदैछ, उक्त खेलले सर्वाधिक गोलकर्ताको होडलाई पनि त्यतिकै प्रभाव पारेको छ। प्रतियोगिता भरीको नतिजाहरु हेर्ने हो भने गोल गर्न टिमहरु संघर्ष गरिरहेका देखिन्छ। खासगरी धनगढी एफसी र विराटनगर सिटीलाई छाड्ने हो भने अन्य टिमको गोलस्कोर खासैमाथि देखिँदैन।
त्यसैले त बिहीवारसम्मको खेललाई हेर्ने हो धनगढीका ओलावाले अफिज सर्वाधिक गोलकर्ताको सूचीमा ४ गोल गरेर सबैभन्दा माथि थिए भने विराटनगर सिटीका सन्तोष तामाङ ३ गोल गरेर उनलाई पछ्याउँदै थिए। तर हिजोको खेलले सर्वाधिक गोलकर्ताको सूचीलाई अझ कम्प्लेक्स बनाइदिएको छ।
सर्वाधिक गोल गर्ने सूचीमा विदेशी खेलाडीहरुकै बोलवाला देखिन्छ।
एनएसएलमा कसले कति गोल गरे?
एनएसएलको सर्वाधिक गोलकर्ताको सूचीमा तीन जना खेलाडीले ४ गोल गरेका छन्। जसमा सबै विदेशी खेलाडी रहेका छन्। सबैभन्दा धेरै गोल गर्नेमध्येका एक हुन्: काठमाडौं रेजर्सका मेसोऔके ओलोउमोउ। उद्घाटन खेलमै ललितपुर सिटीविरुद्ध निर्णायक गोल गरेका उनले बिहीवारको खेलमा विराटनगर सिटीविरुद्ध ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ताको होडमा सामेल भएका हुन्।
त्यस्तै धनगढी एफसीको बलियो अट्याकिङका पछाडिका एक कारण हुन ओलावाले अफीज। काठमाडौंविरुद्धको खेलमा दोहोरो गोल गर्दै प्रतियोगितामा खाता खोलेका उनले ललितपुरविरुद्ध एक र एफसी चितवनको विरुद्ध एक गोल गरेका थिए।
प्रतियोगितमा चार गोल गर्ने अर्का अनुभवी खेलाडी हुन विराटनगर सिटीका पेड्रो माञ्जी। बुटवल लुम्बिनीविरुद्धको खेलबाट प्रतियोगितामा खाता खोलेका उनले एफसी चितवन विरुद्ध एक गोल र काठमाडौं रेजर्सविरुद्ध २ गोल गरे।
त्यस्तै नेपाली खेलाडीबाट सर्वाधिक गोल गर्नेमा विराटनगर सिटीकै सन्तोष तामाङ छन्। धनगढीविरुद्धको खेलमा पहिलो गोल गरेका उनले बुटवल लुम्बिनीविरुद्ध दोस्रो गोल गरेका थिए। त्यस्तै पछिल्लो गोल एफसी चितवनविरुद्ध गरेका थिए।
त्यस्तै प्रतियोगितामा दुई गोल गर्ने खेलाडीहरुमा काठमाडौंका स्टेफेन बिनोङ, विराटनगरका एडिलेजा सोमिडे र वुटवल लुम्बिनीका लक्ष्मण रुचाल रहेका छन्।
