काठमाडौं : नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्न लागेका हुन्। केही बेरमा सुरु हुने बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वारको टुंगो लाग्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
उनका अनुसार समसामयिक राजनीतिका बारेमा बैठकले समीक्षा गर्नेछ। ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि एमालेकै ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सक्रियता बढेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा पार्टीको दुई धारमा रहेका नेताहरुलाई मनाउने प्रयास पनि भइरहेको छ। बिहीवार ओली र नेपालले भण्डारीलाई उनकै निवासमा छुट्टाछुट्टै भेट गरेका थिए।
ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु पनि सहमति गराउन सक्रिय भएका छन्। बिहीवार नै राजधानीको मेरियट होटलमा ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल समूहका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका सँग भेट गरेका थिए।
ओलीलाई एमालेकै नेपाल समूहले विश्वासको मत नदिने चेतावनी दिएपछि एमाले फुटको डिलमा पुगेको छ। ओलीले नेपाल समूहका ३० जना सांसदहरुलाई कारवाहीका लागि स्पष्टिकरण सोधिसकेका छन् भने नेपालले पनि वाग्मती प्रदेशमा एमालेका तर्फबाट उम्मेद्वारका रुपमा अघि सारिएका गृह मन्त्री रामबहादुर थापा बादलका विरुद्ध गठबन्धनका तर्फबाट डा. खिमललाई देवकोटालाई अघि सारेको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि ३ दिनमात्र बाँकी रहेकाले पनि नेकपा एमाले, माधवकुमार नेपाल समूह र प्रतिपक्षमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीभित्र पनि राजनीतिक सरगर्मी बढेको छ।
विश्वासको मतलाई लिएर जनता समाजवादी पार्टी प्रष्ट रुपमा दुई धारमा विभक्त भएको छ। उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई समूह कुनै पनि शर्तमा प्रधानमन्त्री ओलीको पक्षमा नदेखिने भए पनि महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीलाई साथ दिने बचन दिइसकेका छन्। नेकपा एमाले विभाजनासँगै जनता समाजवादी पनि फुटको संघारमा नै रहेको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि तय गरेको मिति वैशाख २७ गते। यो त्यही दिन हो जुन ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गर्दा तोकेका थिए, दोस्रो चरणका लागि। सर्वोच्च अदालतले उनको विघटनलाई उट्याइदिएपछि वैशाख २७ गतेको मिति अर्थहीन बन्न पुगेको थियो। ओलीले फेरि त्यही दिन विश्वासको मत लिने निर्णय गरेपछि वैशाख २७ को मिति नेपालको राजनीतिक घटनाक्रममा स्थायी रुपमा लेखिने भएको छ।
