काठमाडौं : प्रहरीले प्रयोगबिहिन तथा स्टकमा राखिएका अक्सिजन सिलिण्डर जफत गरि विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले १ सय ५९ वटा सिलिण्डर जफत गरेर विभिन्न अस्पतालमा पुर्याएको हो।
सरकारको निर्णय अनुसार प्रयोगबिहीन र स्टकमा राखिएका सिलिण्डर कोभिड १९ संक्रमितको उपचारको लागि आवश्यक पर्ने भएकाले बुझाएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज, अल्का अस्पताल र बज्रबाराही अस्पताललाई सिलण्डर उपलब्ध गराएको हो।
त्यस्तै, बिहिवार काठमाडौं जिल्ला प्रशासन कार्यालय र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कारखाना तथा उद्योगमा रहेको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएर अस्पताललाई बुझाइएका थिए। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाबाट ६ हजार ५ भन्दा बढी अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको हो।
देशभर संक्रमण बढ्दै गएपछि अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ। सरकारले सिलिण्डर स्टक नगर्न र उद्योग धन्दामा प्रयोग नगर्न निर्देशन दिइसकेको छ। स्वास्थ्य मन्त्रालयले बिहीवार पनि विज्ञप्ति जारी गर्दै उद्योग धन्दामा अझैं पनि सिलिण्डर प्रयोग तथा स्टकर रहेको भन्दै कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको थियो।
