PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध



पूजा पन्थी

विरामी छाडेर रातिराति अक्सिजन खोज्न हिँड्नुपर्छ डाक्टरलाई : कोभिड १९ विरुद्ध यसरी नै चलिरहेछ युद्ध

बुटवल : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले फेसबुकमा बिहान ४ बजे लेखे 'फेरि उही कुरा! मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला? बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता! अब त एकोहोरो टोलाउनमात्र बाँकी छ ...'

कोरोना अस्पताल संचालन गरिरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टको यो अभिव्यक्तिले अस्पतालमा अक्सिजनको चरम अभाव रहेको प्रष्ट्याउँछ।

खनालले बिरामी हेर्नुपर्ने बेलामा चिकित्सकले अक्सिजनको  खोज्दै रातभर भौंतारिनुपर्ने बाध्यता रहेको सुनाए। उनले केही दिनयता अस्पतालमा अक्सिजनको अभाव भइरहेको बताउँदै व्यवस्थापनसँग भने पनि कसैले ध्यन नदिँदा रातभर समस्या हुने बताए।

‘दिनभर यहाँबाट आउँछ, उताबाट आउँछ भन्ने आाश्वासन पाउँछौँ। रातपरेपछि अक्सिजन हुँदैन बिरामी छटपटाउँछन्, धेरै पीडा महसुस हुन्छ,’ उनले भने।

हाल लुम्बिनी प्रादेशिक अस्पतालमा १ सय १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। बिहीवार साँझसम्मको रेकर्ड अनुसार ५६ जना संक्रमित अत्यन्तै गम्भीर अवस्थामा छन्। संक्रमितहरुलाई अक्सिजन अभाव भयो भने अवस्था झनै गाह्रो हुने चिकित्सकहरु बताउँछन्।

बिरामीहरुको चाप बढिरहँदा अक्सिजनको माग पनि बढेको छ। दैनिक ४ सयभन्दा बढी सिलिन्डरको माग भइरहे पनि ३ सय सिलिन्डरको पनि व्यवस्था हुन नसक्दा समस्या थपिएको हो।

बुटवलमा बनेको अक्सिजन बैंक, जिल्ला प्रशासन कार्यालयले पठाएको सिलिन्डरले पनि माग धान्न नसकिरहेको खनालले बताए।

‘अक्सिजन भनेको धारामा पानी आएजस्तै गरि आउनुपर्छ तर खाली भएका सिलिन्डर भरिएर आउँदैन यसले समस्या भयो,’ डाक्टर खनालले भने।

यता अस्पतालमा कोरोनाका संक्रमितका साथै अन्य रोगबाट ग्रस्त बिरामीहरु पनि छन्। त्यसैले अस्पतालमा भएको अक्सिजन प्लान्टले एनआईसीयू, आइसीयूमा लगायतमा रहेका बिरामीलाई मात्रै पुग्ने गरेको उनले बताए। प्लान्टले अस्पतालको अवस्था केही सहज बनाए पनि कोरोना संक्रमितकै लागि अक्सिजन भने अपुग छ। उनले खाली भएका सिलिन्डरलाई भरेर नियमित पठाउने वातावरणको सिर्जना गर्न प्रदेश सरकारले समन्वय गरिदिनुपर्ने पनि बताए।

खनालले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतलाई अक्सिजनको अवस्थाबारे जानकारी गराइरहेको बताए। तर, अक्सिजनको अभाव कायमै रहेकाले संक्रमितको उपचार गर्न कठिन भइरहेको उनले बताए।

'अभाव हटाउँदै व्यवस्थापन गर्छौं'

यता, लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले भने कोरोना अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि प्रदेश सरकारले स्थानीय अक्सिजन उत्पादक र आयातकर्तासँग छलफल गरेर र व्यवस्थपन गर्न लागेको दाबी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले लुम्बिनी प्रदेशभित्र रहेका अक्सिजन उद्योग र आयातकर्तालाई स्थानीय अस्पतालमै उत्पादन गर्न र आयातित अक्सिजन प्रदान गर्नको लागि आग्रह गरिएको र उनीहरु सकारात्मक रहेकोले केही दिनभित्रै अभाव हट्ने बताए।

‘अक्सिजनको यतिधेरै उत्पादन हुन्छ भन्ने थिएन। हामी पूर्वतयारीमा पनि भएनौं, यसले गर्दा गाह्रो भयो। हामी समन्वय गरिरहेका छौँ,’ पौडेलले भने।

उनका अनुसार मन्त्रालयले अस्पतालमा भएका अक्सिजन प्लान्टहरुलाई ममर्त गर्नका लागि अस्पतालहरुलाई आग्रह गरिरहेको छ। साथै उनले घरघरमा अक्सिजन सिलिन्डर राख्दा कृत्रिम अभाव भएको समेत बताए।

के भन्छन् उद्योगी ?

अक्सिजन सिलिन्डर प्रयोग हुँदै आइरहेका रुपन्देहीका उद्योगीहरुले आफ्ना उद्योग बन्द गरेर भएका सबै अक्सिजन सिलिन्डर स्थानीय प्रशासनलाई बुझाएको दावी गरेका छन्।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले अक्सिजन प्रयोग गर्ने रुपन्देहीका उद्योगीहरुले प्रशासनलाई सिलिन्डर हस्तान्तरण गरेको बताए। उनले आफूहरुले उद्योग बन्द गरेर सिलिन्डर दिए पनि भर्ने वातावरणका लागि केन्द्र र प्रदेश सरकारले समन्वय गर्नुपर्ने उल्लेख गरे।

उनले सिलिन्डरको कृत्रिम अभाव भइहेको भए त्यसको व्यवस्थापन गर्न प्रशासनलाई आग्रह समेत गरे।

रुपन्देहीमा करिब ७ सय उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डर प्रशासनलाई बुझाइएको उद्योग संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell