काठमाडौं : अन्तत: नेकपा एमालेले राष्ट्रियसभाको उप निर्वाचनमा वाग्मती प्रदेशमा रामबहादुर थापा बादललाई उम्मेदवार तय गरेको छ। बालुवाटारमा आज बसेको एमाले नेताहरुको बैठकले बादललाई उप निर्वाचनमा चयन गर्ने निर्णय गरेको हो।
वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन्। त्यसकै पूर्व सन्ध्यामा ओलीले आफू नजिकका नेतालाई बालुवाटार छलफलमा बोलाएका हुन्। आज नै उम्मेदवारी तय गर्नुपर्ने भएकाले बादललाई ओलीले रोजेका हुन्।
'बादल उम्मेदवार बन्नु भो,' एमाले नेता सुवास नेम्वाङले भने।
छलफलमा माधवकुमार नेपाल पक्षसँग एकताको विषय पनि चर्चामा रहेको छ। त्यसका लागि नेपाल पक्षीय नेताहरुमाथि कारवाहीको निर्णय फिर्ता लिने विषय पनि उठेको छ। 'कारवाहि फिर्ताबारे छलफल भइरहेको छ। तर निर्णय भइसकेको छैन,' नेम्वाङले भने।
यता निर्णय भएलगत्तै हेलिकप्टर लिएर बादल हेटौंडा पुगेका छन्। उनी हेलिकप्टर लिएर मनोनयनका लागि हेटौंडा पुगेका हुन्।
