PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव नेपाल र ओली बिच सहमतिको 'घनचक्कर' : वैशाख २७ गतेसम्मै चल्नेछ 'खेल'



प्रकाश भण्डारी

माधव नेपाल र ओली बिच सहमतिको 'घनचक्कर' : वैशाख २७ गतेसम्मै चल्नेछ 'खेल'

काठमाडौं : राजनीतिक रुपमा विभाजित नेकपा एमालेका कार्यकर्ताका लागि वैशाख ८ गतेको दृश्य। फुटकै डिलमा पुगिसकेको अवस्थामा त्यस दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वरिष्ठ नेता माधव नेपालसँग मेरियट होटलको भेट अप्रत्यासित र आकस्मिक थियो।

कार्यकर्ता मात्रै होइन, धेरैजसो नेताले समेत भेट्नुअघि सुइकोसमेत पाउन सकेका थिएनन्, त्यतिखेर। आकस्मिक रुपमा भेटेर ओली-नेपालले चक्मा दिन लागेका त होइनन्? नेता कार्यकर्तामा आशंका थियो। तर, त्यसलाई ओली-नेपालले गलत सावित गरिदिए र पार्टी कार्यकर्ताको अपेक्षालाई निस्तेज बनाइदिए। अकास्मात भएको त्यस भेटले संवादहीनतालाई तोड्नेबाहेक कुनै गाँठी कुरामा पुर्‍याउन सकेन। नेपाल दोस्रो दिन ओलीसँगको वार्तालाई सकेर सोझै जनकपुर गए। वार्ताबारे औपचारिक प्रतिक्रिया नदिएरै बाहिरिएका नेपालको मुख जनकपुर पुगेर खुल्यो।

त्यस बिचमा अनेकखाले लख काटिए। जसलाई बालुवाटारको प्रचार संयन्त्रले बल पुर्‍याइरहेको थियो - भेट चलिरहकै बेला ओलीले नेपाललाई धरहरा देखाएको फोटो सार्वजनिक गरेर।

जनकपुर पुगेका नेपालले ओलीसँग सहमति नभएको बरु तिक्तता थप बढेको बताएका थिए।

उनले धरहराभन्दा अग्लो दम्भ ओलीले देखाएको बताएका थिए। उनले भनेका थिए - त्यसो पनि उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो। धरहरा हेरेर आफ्नो दम्भ हेराउँदै हुनुहुन्थ्यो। उहाँको दम्भको कुनै अर्थ छैन।

भेट औचित्यहीन भएको नेपालले बताउँदा ओली भने एक्सन लिएरै देखाउन चाहन्थे। त्यही अनुसारको ओलीले तयारी पनि गरे। १० गते बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल सहित ३० जना सांसदलाई कारवाहीको तयारी गरेका थियो। तर, नेताहरुले संसदको अंकगणित देखाएपछि भने ओली हच्किए। यद्यपि, ओलीले गर्ने कारवाही भने तयारी हालतमा राखिएको बालुवाटार निकट स्रोतको दाबी छ। जुनसुकै बेला माधव नेपाल समूहमाथि कारवाही हुनसक्नेबारे स्वयम् नेपाल समूह पनि जानकार छ।

कारवाही बारेको सूचना पाएपछि नेपाल समूहले पनि ओलीले २७ गते लिन लागेको विश्वासको मतमा सामूहिक राजीनामा गरेर 'देखाइदिने' सन्देश बालुवाटार पठाएको छ। ओली समूहका नेताहरुका अनुसार ओलीले विश्वासको मतका लागि अन्तिम प्रयास गरिरहेका छन् भने उनले विश्वासको मत नपाए के गर्ने? भन्ने तयारी पनि उत्तिकै गतिमा गरिरहेका छन्। माधव नेपाल समूहसँग लचिलो हुनुपर्ने ओली समूहमै आवाज उठिरहेको भए पनि ओली आफैँ भने नेपालसँग नझुक्ने रणनीतिमा छन्। तै पनि प्रधानमन्त्री पद सुरक्षित हुने अवस्थामा भने नेपालसँग ओलीले सहमति गर्नसक्ने एमाले वृत्तमा चर्चा छ। किनकि नेपालको राजनीति हो, कुनै पनि समय ट्विस्ट र टर्न गर्न समय लगाउँदैन।

के भद्र सहमति हुँदै छ?

ओलीको पछिल्लो रणनीति छ - माधव नेपाल समूहलाई सकेसम्म तितरबितर बनाउने अनि विपक्षी दललाई भुलभुलैयामा राख्ने। त्यसका लागि उनले औपचारिक निर्णय नै गरेका छन्। बालुवाटारमा चैत ७ गते बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ३८ जना सांसदहरुले असहमतिपत्र बुझाउँदा ओलीले एक्लाएक्लै राखिएका कुराको सुनुवाइ हुनेभए पनि नेपाल समूहको समूहगत कुरा भने नसुन्ने भन्दै त्यसलाई ठाडै नकारेका थिए।

बरु, ओलीले नेपाल समूहका नेताहरुलाई एक्लाएक्लै भेटिरहेका छन्। त्यसका लागि ओलीले स्वयम् माधव नेपाललाई समेत मनाइसेका छन्। एक्ला-एक्लै नभेटने भनेर नेपालले अड्डी कसेपछि नेकपा एमालेको पुरानो पार्टी कार्यालय धुम्वाराहीमा ओलीले नेपाल समूहका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए। बालुवाटारमै वार्ता चाहने ओली धुम्बाराहीसम्म पुगेर लचिलो बनिसकेकोमा थप लचिलो बनेर नेपालसँग सहमति गर्ने कुरै थिएन। बरु त्यसपछि नेपाल केही लचिलो बनेका छन्। एक्लै नभेट्ने अडानमा रहेका नेपालले ओलीलाई गोप्य भेट गरेर लचिलो बनेको कार्यकर्तालाई सन्देश दिइसकेका छन्।

वैशाख ८ गते भने नेपाल आफ्नो अडानबाट पछि हटेर ओलीसँग मेरियट होटलमा गोप्य वार्ता गर्न तयार भएका थिए। यद्यपि, ती भेटहरुले एमालेमा कुनै सहमतिको वातावरण भने बनाएन। ओली र नेपाल बिच सहमतिको प्रयासका लागि सार्वजनिक रुपमै र कतिपय गोप्य भेटघाट भने भइरहेका छन्। त्यसका लागि ओली र नेपाल दुवै समूहले दूतमार्फत् कुराकानी गरिरहेका छन् भने टेलिफोन संवाद समेत भइरहेको ओली निकट मानिने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। उनी यसलाई स्वाभाविक मान्छन्।

'अहिले यति धेरै छलफल भेटघाट भइरहेका छन्। कतिपय भेट सार्वजनिक हुन्छन् त कतिपय गोप्य। यो अहिलेको सन्दर्भमा स्वभाविक पनि मान्छु म,' उनले भने।

गोप्य भेटघाटकै सिलिसलमा नेपालले बिहीवारमात्रै राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा भेटेका थिए। देउवासँगको भेटबारे नेपाल समूहले केही पनि सार्वजनिक गर्न चाहेको छैन भने राष्ट्रपतिसँगको भेटलाई समेत गोप्य राख्न खोजिरहेका छ। नेपाल निकट स्रोतहरुले भण्डारीलाई साक्षी राखेर ओली र नेपालबिच वार्ता भएको र त्यो वार्ता सहमति उन्मुख भएको दाबी गर्दा ओली निकट नेताहरु भने त्यसलाई अस्वीकार गरिरहेका छन्। भण्डारीसँग बरु नेपाल र ओलीले एक्लाएक्लै भेट गरेको बालुवाटार स्रोतको दाबी छ।

'बिहीवारको मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री जानुभयो। राति माधव नेपाल जानुभएको थियो। माधव नेपाल पनि सहमतिकै लागि जानुभएको हो,' ओली निकट स्रोत भन्यो।

सामुहिक राजीनामाको चेतावनीले टसमस भएनन् ओली

ओली समूहका नेताहरुको विश्लेषण छ - माधव नेपालको पक्षमा रहेका एक जना सांसद पनि पार्टीको निर्णय विरुद्ध जान सक्दैन। त्यसका लागि नेपाल समूहका सांसदसँग ओलीले एक्लाएक्लै संवाद समेत गरेका छन्। पार्टीको निर्णयविरुद्ध जान नहुने भन्दै नेपाललाई आफ्नै नेताहरुको दबाब छ। यसबारेमा सुक्ष्म अध्यन गरिरहेका ओली, नेपाल समूहको सामूहिक राजीनामाले टसमस भएका छैनन्। 'उहाँहरुले सकेको गर्दा हुन्छ भन्ने छ। एक जना सांसद पनि पार्टीको निर्णय विरुद्ध जान सक्दैन,' ओली निकट एक नेताले भने।

त्यसो भए अहिले भइरहेका वार्ता के-के लागि?

ओली समूहसँग त्यसको पनि सोझो जवाफ छ - सके विश्वासको मत लिने, नभए राजनीतिले अर्को मोड लिन्छ। ओलीले विश्वासको मत लिन र एमालेको एकता कायमै राख्ने भरपुर प्रयास गरेको सन्देश दिन चाहन्छन्। त्यसका लागि उनले नेताहरुको घरदैलोदेखि एमाले भित्रको छलफलाई तीब्र पारेका छन्। नेताहरुसँग संवाद पनि गर्ने र अर्को राजनीतिक निर्णयको तयारी पनि गर्ने ओलीको पुरानै शैली हो। उनको फकाउने र धम्काउने रणनीति प्रतिनिधिसभा विघटन अघि पनि थियो भने हाल त्यसले झन् व्यापकता पाएको छ। त्यसकै सिलसिला अन्तर्गत ओलीले नेपाल समूहसँग वार्ता गरिहेका छन्। ओलीसँग बिहीवार राति नेपाल समूहसँगका नेता घनश्याम भुसाल र योगश भट्टराईसँग भेटवार्ता भएको ओली समूहका नेता नेम्वाङले जानकारी दिए। तर, कुनै सहमति भने नभएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell