काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढि भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशिक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिर जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेललाई पक्राउ गरेको महाशाखाले जनाएको छ।
काठमाडौंदेखि पूर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि ४५ सयसम्म भाडा लिने इन्द्रेणी हाईसको काउण्टर र प्रदेश३-०१-००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ।
महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि विभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढि भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ।
बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
