PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

कोभिड महामारीमा नेपाललाई सहयोग गर्न अमेरिकी सरकारी अंगहरुलाई पत्राचार



रासस

कोभिड महामारीमा नेपाललाई सहयोग गर्न अमेरिकी सरकारी अंगहरुलाई पत्राचार
GETTY IMAGES

टेक्सास : गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन्।

एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल नेटवर्क (एनडब्लुजिएन), अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल राइजिङले संस्थागत रुपमा अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्रसहित अमेरिकी विदेश मन्त्रालय, अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समिति र दक्षिण एशिया हेर्ने सिनेटको उपसमितिलाई सहयोगका लागि अनुरोध पत्र पठाएको हो।

एनआरएनए अमेरिकाका तर्फबाट अध्यक्ष सुनिल साह, एएनएका तर्फबाट अध्यक्ष विजयराज भट्टराई, अमेरिका नेपाल मेडिकल फाउन्डेशनका तर्फबाट अध्यक्ष डा भूपेश खड्का, एनडब्लु जी एनका तर्फवाट अध्यक्ष एर्टोनी अभिमा उप्रेती, नेपाल राइजिङका तर्फबाट अध्यक्ष डा आरती मलेखुले हस्ताक्षर गरी संयुक्त अनुरोध पत्र पठाएका हुन्। संस्थाहरुका साथै यस अभियानमा नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले पनि साथ दिँदै पत्रमा हस्ताक्षर गरेका छन्।

नेपालमा आवश्यक कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा आवश्यक अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ। यसैबिच गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गैरआवासीय नेपाली सङ्घ, अन्तररष्ट्रिय समन्वय परिषद्सँगको सहकार्यमा आइसिसीमार्फत २५ हजार अमेरिकी डलर सहयोग गरेको छ।

सङ्घका अध्यक्ष साहको अध्यक्षतामा बसेको कार्यसमितिको बुधबारको बैठकले २५ हजार डलर तत्काल सहयोग गर्ने तथा अवस्था हेरेर उक्त सहयोग रकमलाई ५० हजार डलरसम्म बढाउन सकिने निर्णय गरेको छ। सङ्घका महासचिव पशुपति पाण्डेका अनुसार सङ्घले गो फन्ड मी मा अकाउन्ट बनाएरसमेत आर्थिक सहयोग सङ्कलनलाई अघि बढाएको छ।

यसैबीच सो आर्थिक सहयोग सङ्कलन अभियानमा सङ्घका उपाध्यक्ष बुद्धिसागर सुवेदीसहितका अभियानकर्मीले १० हजार डलर सहयोग गरेका छन्। अमेरिकामा अहिले विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग सङ्कलन शुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell