काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ।
फेस्टिभलमा रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनुको जुत्ता’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको हो।
केदार श्रेष्ठ निर्देशित फिल्मका लागि यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड होइन। यसअघि मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड जितेको थियो। त्यस्तै अप्रिलमा बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो।
‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ।
लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड लिएको थियो।
सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिस्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ। जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो।
‘जुनु’ पात्रमा केन्द्रित रहेर १० वर्षे यात्राको तयारी
योसँगै जुनु पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको पनि तयारी भइरहेको छ्। जुनुको फरक फरक उमेरको कथा बोक्ने आगामी फिल्महरु हरेक दुई दुई वर्षको अन्तरालमा छायाँकन हुनेछन्।
करिब १० वर्षपछि फिल्मले पूर्णता पाउनेगरी जुनुको भूमिकामा रहेकी ६ वर्षे हिस्सी लामालाई १५÷१६ वर्ष उमेरसम्म कथाले पछ्याउनेछ। तर जुनु श्रृंखलको हरेक सर्ट फिल्म आफैमा पनि पूर्ण हुनेछन्।
‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।
फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।
विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन्। विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।
फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्ककुमारी शर्मा लगायतको अभिनय छ । ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन्
