PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रहरीलाई अलमलाएको गोली प्रकरणका दोषी अखेटोपहार चोरीमा समेत संलग्न!



रिना थापा

प्रहरीलाई अलमलाएको गोली प्रकरणका दोषी अखेटोपहार चोरीमा समेत संलग्न!

पोखरा : गत माघमा पोखरामा प्रहरीको टाउको दुखाउने दुई आपराधिक घटना घटे। पोखरा-१५ टुटङ्गास्थित बन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुको अखेटोपहार चोरी र युवकमाथि गोली प्रहार भएको घटनाले प्रहरीको टाउको दुखाएको थियो।

गत माघ २३ गते साँझ करिब ७ बजे २७ वर्षीय मनोज विक घाइते अवस्थामा बैदाम चौकी पुगे। घाइते स्वयंले नै गोली लागेको बताएपछि पोखरामा गोली चलेर एक युवक घाइते भएको खबर फैलियो। तर, जिल्ला प्रहरी कार्यालय कास्कीले मेडिकल रिर्पोट देखाएर उक्त समाचारलाई गलत भन्यो।

मेडिकल रिपोर्टमा धारिलो हतियारको घाउ भनिएपछि गोली नचलेको बताइयो। तर, अस्पतालको शय्याबाट पीडितले आफूलाई गोली लागेको बताइरहे। घाइते र डाक्टरको भनाइ फरक पर्दा प्रहरी अलमलमा पर्‍यो। मनोजले आफूमाथि गोली चलेको प्रहरीलाई बारम्बार बताइरहँदा पनि प्रहरीले वास्ता गरेन।

घाउ वारपार भएको देखिएपनि गोली लागेको कुरामा प्रहरी विश्वस्त हुन सकेन। उपचार चलिरहेकै बेला मनोजकी आमाले कपडा मिलाउँदा ज्याकेटबाट गोली खस्यो। गोली भेटेपछि भने प्रहरीले अनुसन्धानमा चासो देखाएको थियो।

घटना भएको ६५ दिनपछि चैत २९ गते प्रहरीले गोली हानेको अभियोगमा बाराको पिपरबृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गर्‍यो। पाण्डेलाई प्रहरीले पोखरा-१ सिम्पानीबाट पक्राउ गरेको थियो। निर्माणाधीन घरमा मेटलको काम गर्दै गरेका पाण्डेको साथबाट प्रहरीले तीन राउन्ड गोली बरामद गरेको थियो।

प्रहरीले उनविरुद्ध अनुसन्धानमा राखेर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाएको थियो। प्रहरीका अनुसार अनुसन्धानमा गोली चलाएको कारण हालसम्म नखुले पनि गत माघ महिनामा संस्थानको प्रयोगशालाबाट वन्यजन्तुको अखेटोपहार चोरी गरेको खुलेको हो।

गत माघमै पोखरा-१५ टुटुङ्गास्थित बन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुको अखेटोपहार चोरी भएको थियो। ताला फोडेर र्‍याकभित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड लगायत अखेटोपहार चोरी भएको थियो। चोरी भएको १० दिनपछि सोही स्थानभन्दा करिब ४ सय मिटर पश्चिमतर्फको बनपाले जंगल घाटको पधेँरोमा प्लाष्टिक, जुटको बोरा तथा पछाडी बोक्ने ब्यागमा बेवारिसे अवस्थामा अखेटोपहार फेला परेको थियो।

प्रहरीले चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, हाड अखेटोपहार, चित्तलको सिङ २ थान र अन्य जनावरको हाड तथा अखेटोपहार समेत फेला पारेको थियो। त्यसबेला चोरी गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरी जनाएको थियो।

मुल गेटमै सीसीटीभी क्यामरा जडान गरिएको र २ सय ५० विद्यार्थी समेत बस्ने उक्त स्थानबाट त्यससमय सजिलै सामान चोरी भएको थियो। हाल पाण्डेविरुद्ध चोरी सम्बन्धी मुद्दा पनि दर्ता भएको छ।

अहिले दुवै घटनामा एकै व्यक्तिको संलग्नता भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले दुवै घटनामा एकै व्यक्तिको संलग्नता भएको जानकारी दिएका छन्।

‘अनुसन्धानको क्रममा दुवै घटनामा एकै व्यक्तिको संलग्नता भएको पाइएको छ’, श्रेष्ठले भने, ‘हामीले मिसिल तयार गरेर अदालतमा पेश गर्दै छौँ।’

प्रहरीका अनुसार वन्यजन्तुको अंग चोरीमा थप अर्का व्यक्तिको संलग्नता भएको खुलेको छ। अनुसन्धानकै क्रममा पाण्डेले विकमाथि गोली प्रहार गर्नुको कारण पनि खुलाएको प्रहरीले जानकारी दिएको छ। तर, गोली प्रहार गर्नुको कारण के हो भनेर प्रहरी उपरीक्षक श्रेष्ठले सार्वजनिक गर्न भने चाहेनन्। प्रहरी अनुसन्धानको क्रममा पाण्डेले गोली अनुसारको बन्दुक समेत बनाउन सक्ने खुलेको छ।

गोली लागेका पीडित मनोज अझै पनि राम्रोसँग हिँडडुल गर्ने अवस्थामा छैनन्। बेडमा थलिएर बसेको ३ महिना बितिसक्यो। आर्थिक अवस्था न्युन भएका उनी परिवारमा आयश्रोतका मुख्य व्यक्ति नै हुन्। हालसम्म उपचारका लागि उनले कम्तीमा ३ लाख बढी खर्च गरिसके। उनको अझै एउटा अपरेशन गर्न बाँकी नै छ।

घाइते भएर अस्पतालमा बस्दा एक महिनामै २ लाख ६४ हजार खर्च भइसकेको थियो। औषधि र अन्य खर्चको उनीसँग हिसाब छैन। अस्पतालले पुनः अपरेशनका लागि २ लाख बढी लाग्ने बताएको छ।

घटना घटेको ३ महिना बितिसक्दा पनि दोषीले गोली हान्नुको कारण नखुलाउँदा मनोज अवाक् सुनिन्छन्।

‘मेरो कसैसँग दुश्मनी थिएन, अन्जान व्यक्तिले जागिरको लोभ देखाएर यस्तो हालमा पुर्‍यायो,’ उनले भने।

मोटरसाइकल चोरीका लागि गोली प्रहार गरेको हुन सक्ने मनोजको शंका छ।

यता मनोजकी आमा छोराको अवस्था देखेर चिन्तित छिन्। कमाउने छोरा ओछ्यानमा छ। उसैलाई सहाराको आवश्यकता छ।

उनको एउटै प्रश्न छ, ‘मेरो घर छैन सुकुम्बासी हो भनेर दोषीले सुख पाउने हो कि के हो?’

जारी निषेधाज्ञाले समस्या भइरहेको बेला छोराको औषधि उपचारको खर्चले आमा पिरोलिन्छिन्।

छोराको अवस्थामा दिन रात पिरोलिएकी आमाको दुखेसो छ, ‘मेरो निरोगी छोरालाई यस्तो बनाए।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell