विराटनगर : मोरङको विराटनगरमा नक्कली रेम्डेसिभिर बिक्री गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १० का २६ वर्षीय सोनु आलम र वडा नम्बर १६ का २३ वर्षीय श्रवण कुमार यादव रहेका छन्।
विराटनगर महानगरपालिका-४ स्थित साथी मेडिकल औषधि पसलका आलमलाई स्टासेफ नामक औषधिमा रेम्डेसिभिर औषधिको नक्कली स्टिकर टाँसी बढी मुल्यमा बिक्री गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
शुक्रवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दिउँसो १ वजे आलमकै औषधि पसल खानतलासी गरेको थियो। पसलमा स्टासेफ नामक औषधि ४ सिसी र रेम्डेसिभिर नामक औषधि १ सिसी फेला परेको थियो।
प्रहरीले उक्त औषधि कानुन वमोजिम बरामद गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसुर अन्तर्गत कारबाही प्रकृया अगाडि बढाएको प्रहरी कार्यालयले बताएको छ।
प्रहरीका अनुसार उक्त स्टासेफ औषधि ९० रुपैयाँमा खरीद गरी ८ हजार रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको पाइएको छ भने औषधिमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको अनुसन्धानमा खुलेको छ।
