काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय र राष्ट्रिय सभाको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक घेटघाट तीव्र भएका छन्। चुनावी तालमेल र विश्वासको मतको पक्ष र विपक्षमा माहोल बनाउन सत्तापक्ष र प्रतिपक्ष दुबै दौडधुपमा छन्।
यसै सिलसिलामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शुक्रबार साँझ करिब आधा घण्टा दुई नेताबीच कुराकानी भएको हो। साँझ ६ बजेपछि दुई नेताबीच भेटवार्ता भएको हो।
भेटमा राष्ट्रिय सभाको आसन्न उपनिर्वाचन र प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतका विषयमा कुराकानी भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए।
पछिल्ला दिन देउवा निवास बुढानिलकण्ठमा राजनीतिक भेट बाक्लिएको छ। यसअघि बुधबार प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरुले पनि देउवालाई भेटेर विश्वासको मतमा सहयोग गर्न आग्रह गरेका थिए। देउवाले ओलीको आग्रह अस्वीकार गरेका थिए।
यस्तै, बिहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवासँग भेटवार्ता गरेका थिए। शुक्रबार देउवासँग प्रचण्डले भेट गरेका हुन्।
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाइसकेको छ। यस्तै, राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत कांग्रेस, माओवादीलगायतका दलले गठबन्धनबाट उम्मेदवार चयन गरिसकेका छन्। उपनिर्वाचनमा बहालवाला गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
