PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमालेका नेताबीच बालुवाटारमा भयो साढे दुई घण्टा वार्ता, मेटिएला एक वर्षदेखिको तिक्तता?



पहिलोपोस्ट

एमालेका नेताबीच बालुवाटारमा भयो साढे दुई घण्टा वार्ता, मेटिएला एक वर्षदेखिको तिक्तता?

काठमाडौं: नेकपा एमालेमा देखिएको विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच बालुवाटारमा वार्ता भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सहमतिका विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै सहमति भने नभएको स्रोतले बतायो। 'निकै सकारात्मक छलफल भएको छ। कुनै सहमति भने भइसकेको छैन्,' स्रोतले भन्यो।

बालुवाटारमा ४ बजेदेखि साँझ साढे ६ वजेसम्म वार्ता  भएको थियो।

नेपाल समूहबाट स्थायी कमिटी सदस्य योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट सहभागी थिए। ओली समूहका तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए। नेपाल समूहका तर्फबाट सुरेन्द्र पाण्डे पनि सहभागी हुने तय भए पनि बिरामी भएपछि सहभागी भएनन्।

शनिबार फेरि छलफल गर्नेगरी आजको वार्ता सकिएको छ। भोली नेपाल र ओलीबीच नै कुराकानी हुने तयारी भइरहेको भए पनि दुबै समूहका नेताहरुले हालसम्म निश्चित भने नभइसकेको बताएका छन्। प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधि सभामा लिन लागेको विश्वासको मत अघि एमालेलाई एकतावद्द बनाउने भन्दै दोस्रो तहका नेताहरु सहभागी भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत एमालेको विभाजनलाई रोक्न मध्यस्तता गरिरहेको बताइएको छ। बिहीबार मात्रै प्रधानमन्त्री ओली र नेपालले राष्ट्रपतिलाई भेटेका थिए। बालुवाटारमा बिहीबार पनि ओली र नेपाल समूहका नेताहरुबीच वार्ता भएको थियो। नेपाल-ओलीबीच वार्ता भइरहेको भए पनि नेपालले भने शुक्रबार दिउँसो ओली समूहले सहमति भएको भन्दै गलत प्रचार गरेको बताउँदै नेपालले खण्डन गरेका थिए। उनले कुनै सहमति नभएको आफू वार्ताका लागि लचिलो भएको बताएका थिए। यसअघि प्रधानमन्त्री ओली र नेपालबीच वैशाख ८ र ९ गते मेरियट होटलमा एक्ला एक्लै वार्ता भए पनि सफल भने भएको थिएन।

त्यसअघि एमालेको पुरानो पार्टी कार्यालय धुम्बाराहीमा नेपाल र ओलीबीच समूहमा वार्ता भएको थियो। हाल नेपाल समूहले ओलीलाई  सामूहिक राजीनामाको चेतावनी दिइरहेको छ भने ओलीले कारबाहीको धम्की दिइरहेका छन्।

बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत एमाले विभाजित देखिएको छ। शुक्रबार भएको उम्मेद्वारी दर्तामा एमालेकै दुइ उम्मेद्वार अघि सारिएका छन्। ओली समूहले गृहमन्त्री रामबहादुर थापा बादललाई अघि सार्दा नेपाल समूहले कांग्रेस, माओवादी र जसपा गठबन्धनका साझा उम्मेद्वारका रुपमा डा. खिमलाल देवकोटालाई समर्थन गरेको छ। नेपाल समूहले ओलीसँग सहमतिका लागि २०७५ जेठ अघिको एमालेमा फर्कनुपर्ने अडानलाई बटमलाइन बनाएको छ। ओलीले पछि फर्कने अवस्था नभएको अडान लिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell