PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्यायो एम्बुलेन्ससहितको कोरोना विशेष अस्पताल



पहिलोपोस्ट

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्यायो एम्बुलेन्ससहितको कोरोना विशेष अस्पताल

सुर्खेत : दोस्रो लहरको कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेकाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्ससहितको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। साविकको कटकुवा स्वास्थ्य चौकी रहेको भवनमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको हो।

अस्पतालमा लक्षणसहितका गम्भिर प्रकृतिका बिरामीलाई उपचार गर्ने गरी उक्त अस्पताल शुरु गरिएको नगरपालिकाले जनाएको छ। उपचार गर्नै पर्ने संक्रमित विरामीलाई अक्सिजनसहितको सो अस्पतालमा भर्ना गरी उपचार गरिने छ। प्रदेश अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा नगरपालिकाका अन्य स्वास्थ्यकर्मीले संक्रमितको उपचार सेवा प्रवाह गर्ने छन्।

‘गत वर्षको क्वारेन्टाइन, आइसोलेसन र राहत भन्दा पनि यसपटक संक्रमण बढी जोखिम भएकाले अहिले तत्कालका लागि २५ शय्याको अस्पताल शुरु गरेका छौँ’, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले भने, ‘प्रदेश अस्पतालमा रहनुभएका चिकित्सकको निगरानी हुने गरी अक्सिजनसहितको उपचार हुन्छ।’

नगरपालिकाले उपचार अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भनेर कोरोना विशेष अस्पताल र आफ्नै एम्बुलेन्सको व्यवस्था समेत गरेको जनाएको छ। कर्णाली प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको र पुष्टि हुने क्रम समेत नरोकिएको हुँदा उपचार सेवालाई प्रभावकारी बनाउने पहल भएको तथा आगामी दिनमा थप हुने नगरप्रमुख देवकुमार सुवेदी बताउँछन्।

‘संक्रमितको संख्या बढ्दै जाने र अवस्था एकदमै जटिल हुने हुँदा उपचार सेवाको अभावमा कोही रहन नपरोस् भनेर नगरपालिकाले आफ्नै एम्बुलेन्स र अस्पताल शुरु गरिएको छ’, नगरप्रमुख सुवेदी भन्छन्, ‘आगामी दिनमा आवश्यकता हेरेर स्रोत साधन थप गर्छौ।’

हाल सुर्खेतमा एक हजार चार सय ६३ जना सक्रिय सक्रमित छन्। वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी एक हजार तीन सय ७९ जना होम आइसोलेसनमा छन्। गुर्भाकोट होम आइसोलेसनमा १० जना छन् भने लक्षणसहितका जटिल प्रकृतिका ७४ जना बिरामी प्रदेश अस्पतालमा उपचाररत छन्।

वीरेन्द्रनगरमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ११ जनाले ज्यान गुमाइ सकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell