PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसको कोभिड-१९ अनुगमनका संयोजक महतको ठहर : हचुवा निर्णयले देशभर संक्रमण, १५ दिनको निषेधाज्ञाले हुँदैन चेन ब्रेक



पहिलोपोस्ट

कांग्रेसको कोभिड-१९ अनुगमनका संयोजक महतको ठहर : हचुवा निर्णयले देशभर संक्रमण, १५ दिनको निषेधाज्ञाले हुँदैन चेन ब्रेक

  • डा. प्रकाशशरण महत-

कोभिड संक्रमण रोकथाममा सरकार सुरुदेखि नै गम्भीर देखिएन। संवेदनशील पनि छैन। पहिले पनि महामारीमा सरकार भ्रष्टाचारमा लिप्त भयो। स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि। लामो समय भएको लकडाउनमा जनताले राहत पनि पाएनन्।

संक्रमण कम भएपछि फेरि हुँदैन जसो गरेर निच मारे। भारतमा संक्रमण फैलेको देख्दादेख्दै पनि सरकारले ध्यान नदिँदा देशमा अहिले यो अवस्था आएको छ। अहिले देशमा व्यापक रुपमा संक्रमण फैलियो। जनता अत्यन्त अप्ठेरोमा छन्। अस्पतालमा बेड नपाउने अवस्था छ।

अक्सिजनको कमी भइरहेको छ। भेन्टिलेटर छैन। तर सरकार त्यसलाई सम्बोधन गर्न गम्भीर छैन। ४५ प्रतिशतमा संक्रमित देखिएको छ। त्यो पनि व्यवस्थित र व्यापक रुपमा यदि पीसीआर टेस्ट गर्ने हो भने यो संख्या व्यापक रुपमा बढ्छ।

एकपछि अर्को गल्ती गर्दै सरकार

सरकारले सुरुमा काठमाडौं उपत्यकामा जुन निषेधाज्ञा गर्‍यो मान्छेहरुलाई दुईचार दिनसम्म जान छुट दियो। लाखौं मान्छे गए। त्यतिबेला काठमाडौंमा संक्रमण फैलिसकेको थियो। बिना जाँच उनीहरुलाई गाउँगाउँ पठाइयो। कतिपय त संक्रमित पुगे। जिल्ला-जिल्लामा संक्रमण व्यापक भयो।

अब त्यसमा त कमसेकम पीसीआर टेस्ट गरेर नेगेटिभ आउनेमात्र जान पाउने भनेको भए पोजेटिभ भएका चाहिँ शहरमा उपचार गरेर वा आइसोलेनसमा बस्थे।

यसरी एकपछि अर्को गल्ती गर्दैछ सरकारले। भ्याक्सिनेसनको कुरामा अहिले कमिसनको कुरा आएको छ। अब बिचौलियाले नै सरकार चलाएको जस्तो स्वास्थ्य मन्त्रीको अभिव्यक्तिबाट देखिन्छ। भारत सरकारसँग सरकारले नै पहल गर्नुपर्नेमा मन्त्रिपरिषद्बाट नै निजी क्षेत्रलाई दिनुपर्ने भन्ने कुरा आएको छ। यसलाई गम्भीर रुपमा लिनुपर्छ। यसको गम्भीर रुपमा छानबिन हुनुपर्छ। र सम्बन्धितलाई कारबाही गर्नुपर्छ। र बिना कमिसन तत्काल खोप सुनिश्चित गर्नुपर्ने व्यवस्था गर्नुपर्छ। त्यसका लागि कूटनीतिक पहल गर्नुपर्छ। अमेरिकालगायत देशले दिने भन्ने कुरा छ। यसकारण चाँडोभन्दा चाँडो खोपको सुनिश्चिता हुनुपर्‍यो। जो संक्रमित भइसकेका छन्। उपचार नपाएर मर्नुपर्ने अवस्था कसैको आउनु हुँदैन।

१५ दिनमा हुँदैन चेन ब्रेक

यता सरकारले गर्नुपर्ने कामै गरेको छैन। फेरि पनि कमिसनकै चक्करमा सरकार घुमेको छ। सरकार कमिसन खोरको अनुसार चल्ने हो कि आफ्नो नीति नियम अनुसार चल्ने हो? त्यो सरकाले तय गर्नुपर्‍यो। यस्तो दुरुपयोग कदापि पनि नेपाली जनताले स्वीकार्दैन। मान्दैनन्। नेपाली कांग्रेसले कुनै पनि हालतमा स्वीकार्दैन।

अघिल्लो पटक लामो समय लकडाउन भएको थियो। त्यस्तो अवस्थामा स्वास्थ्य समस्यासँगै आर्थिक समस्या देखिएको थियो। कांग्रेसले देशभर सहयोग गर्‍यो। ५० लाख रुपैयाँ सरकारलाई पनि सहयोग गर्‍यो। सरकारले एकद्वार प्रणाली भनेर हात बाँधेर बस्यो। त्यसकारण जनताले धेरै दु:ख पाए।

अहिले पनि १५ दिनको निषेधाज्ञा लागेको छ। यो लम्बियो भने स्वास्थ्य समस्यामात्र समस्या रहँदैन। आर्थिक समस्या आउनेछ। हातमुख जोर्ने समस्या पनि गम्भीर भएर जान्छ। त्यसकारण अहिले नै हामीले के माग गरेका छौं भने सरकारसँग- लक्षित वर्गलाई राहत ल्याएन भनेअप्ठेरोमा जानेछ देश। जथाभावी हैन जसलाई साँच्चै आवश्यकता छ तिनलाई राहत ल्याउनै पर्छ। ती आवश्यकता पर्नेहरुलाई त्यो राहतको सुनिश्चितता सरकारले गर्नुपर्छ। पहिले पनि गर्छु गर्छु भनेर गरेन। धेरै अप्ठेरोमा उद्योग व्यवसायी र आम नागरिक परे। श्रमजीवी परे।

पहिलेको पाठ सिकेर अहिले समयमै सचेत गर्न सरकारलाई भनेका छौं। भ्याक्सिनको कुरादेखि लिएर कोभिडको रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीसँग भनेका छौं।

जस्तो सरकारले जहाँ चेनब्रेकको नाममा ती ठाउँबाट निर्वाध रुपमा केही समय दिएर अन्त जान दिएपछि अन्त फैलियो। अन्त त त्यो १५ दिनको लकडाउन थिएन। फेरि अब त्यहाँ लकडाउन सुरु हुन थाल्यो। किनभने त्यहाँ संक्रमण फैलियो। सरकारको निर्णय हचुवा तालमा भयो। व्यवस्थित भएन। परिणाम के आउँछ भन्ने ध्यानै नदिएर हचुवाको भरमा निर्णय लिँदैछ। यो दुर्भाग्यपूर्ण कुरा छ। यो १५ दिनको लागू गर्‍यो। त्यहाँ त विस्तारै कम होला। तर अरु ठाउँमा त संक्रमण फैलिसक्यो। समग्र देशको कुरा गर्ने हो भने यो १५ दिनको लकडाउनले संक्रमण कम हुने देखिएन। कुनै ठाउँमा होला अर्को ठाउँमा फैलिन सक्ने भयो।

समयमा बोर्डर म्यानेजमेन्ट गरेको भए अनिवार्य टेस्ट गरेर रिजल्ट नआइन्जेल होल्डिङ सेन्टरमा राखेर नेगेटिभ आएमात्र घर पठाउने पोजेटिभ आए क्वारेन्टिनमा राख्ने त्यो व्यवस्था सुनिश्चित गरेको भए राम्रो हुने थियो। अन्तराष्ट्रियस्तरमा पनि यस्तो गरेको भए यस्तो अवस्था आउने थिएन। अब आइसक्यो। आइसकेपछि स्वास्थ्य संरचना पनि व्यापक विस्तार गर्छु भनेको थियो संक्रमण कम हुन थालेपछि त्यो पनि रोक्यो। संरचना विस्तार पनि भएन। भेन्टिलेटर थप पनि आएन। अक्सिजनको सुनिश्चितता पनि भएन। संक्रमित भएकाले पनि समुचित उपचार नपाउने अवस्था अहिले आएको छ। यो अवस्थामा अन्तिम हतियारको रुपमा यो लकडाउन सरकारले प्रयोग गर्‍यो। अहिले आएर नगर पनि भन्न भएन। किनभने यो आउट अफ ह्यान्ड भइसक्यो। तर त्यसले अर्को फेरि आर्थिक सामाजिक कष्टमा जनता गुज्रिनुपर्ने भयो। स्वस्थ्य संकटमा आम नागरिक पर्ने भए। त्यसकारण अप्ठेरो अवस्थामा अहिले सबैलाई सरकारले पारेको छ।

नागरिक आफैं सचेत बन्नुपर्ने देखियो

अब सरकारको भर परेर केही नहुने स्थिति आउन सक्छ। त्यसैले मास्क लगाउने र दूरी कायम गर्ने साबुन पानीले हात धुने अरु प्रिभेन्टिभ रोकथामका उपायहरु ध्यान दिउँ र यो अक्सिजनका कुरामा पनि घरमा अनावश्यक जम्मा नपारौं। जसलाई अक्सिजन आवश्यकता परेको छ। उनीहरुलाई अक्सिजनको अभाव नहोस्। जसलाई अस्पतालै जानुपर्ने अवस्था छैन संक्रमण भएको छैन डाक्टरहरुको कन्सल्टेसनमा बसेर अस्पताललाई भार पार्ने अवस्था नआओस्।

यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले जिल्ला-जिल्लामा कोभिडविरुद्ध सचेतना अभियान चलाएको छ। संक्रमणलाई कम गर्न र अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने अभियान गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरेर नै पार्टीभित्र निर्देशन गरी सर्कुलर भइसकेको छ।

-कांग्रेस सहमहामन्त्री डा महत कांग्रेस कोभिड – १९ अनुगमन समितिका संयोजक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell